कोरोनाविरुद्धको खोप लगाउन किन पछाडि परिरहेकाछन् पुरुष ?


३ जेष्ठ २०७८, सोमबार
korona khop mahesh shre

काठमाडौं, ३ जेठ । कोरोनाका कारण सबैभन्दा बढी मृत्यु भएको देश अमेरिकाको तथ्यांक हेर्दा यहाँ महिलाभन्दा पुरुषको मृत्यु धेरै भएको पाइन्छ । अमेरिकामा तीन वटा खोप स्वीकृत भइ प्रयोगमा ल्याइसकिएको छ, जसले कोरोनाबाट गम्भीर बिरामी भइ अस्पताल भर्ना हुन र मृत्युबाट जोगाउँछ । तर, यसमा समस्या के देखिएको छ भने मृत्युदर बढी भए पनि महिलाको तुलनामा पुरुषहरु खोप लगाउनमा पछि परिरहेका छन् ।

मे ३ सम्ममा अमेरिकामा केबल ३८.५ प्रतिशत पुरुषले मात्र खोप लगाएका छन् । जबकि, ४३.३ प्रतिशतले महिलाले खोप लगाइसकेको आधिकारिक तथ्यांकले देखाउँछ । यो तथ्यांकलाई धेरै हिसाबमा आश्चर्यजनक मानिएको छ । किनकि, यसअघिको सर्वेक्षणमा महिलाभन्दा पुरुषमा खोप लगाउने चाहना बढी हुने गरेको देखिएको थियो ।

जोन्स होप्किन्स युनिभर्सिटीका रिसर्च वैज्ञानिक रोजमेरी मोर्गन र डेरेक ग्रिफिथका अनुसार खोप लगाउने कुरामा लैंगिक भिन्नता देखिनुपछाडि धेरै कारणहरु छन् । मोगर्नका अनुसार अमेरिकामा महिलाहरु पुरुषभन्दा पाँच वर्ष बढी बाँच्छन् र देशको ६५ वर्ष उमेरमाथिको समूहमा ५५ प्रतिशत महिला छन्, जो पहिले खोप लगाउन योग्य भए । त्यस्तै, खोप अभियानमा प्राथमिकता दिइएको फ्रन्टलाइनका कामदारमा पनि महिलाहरु बढी रहेको पाइएको छ । उदाहरणका लागि सन् २०१९ मा स्वास्थ्य क्षेत्रमा कार्यरत हुनेमा ७६ प्रतिशत महिला थिए ।

त्यस्तै, पुरुषहरु खोप लगाउनमा पछि पर्नुको अर्को कारण तिनको व्यवहार पनि हुन सक्ने बताइएको छ । महिलाहरु स्वास्थ्यको ख्याल राख्ने विषयमा सक्रिय हुन्छन् । यसअघि, इन्फ्लुएन्जाको मौसममा पनि फ्लुको सुई लगाउनेमा महिलाहरुको संख्या धेरै रहेको डाटाले देखाउँछ ।
त्यसैगरी, यसको राजनीतिक कारण पनि छ । आफूलाई रिपब्लिकनका रुपमा परिचित गराउने अधिकांशले खोप लगाउने सम्भावना कम हुन्छ । मार्चमा गरिएको न्युजआवर पोलमा केबल ५० प्रतिशत रिपब्लिकन पुरुषहरुले मात्र खोप लगाइसकेको या लगाउने योजनामा रहेको पाइएको थियो । डेमोक्रेट्सहरु भने ९२ प्रतिशत खोप लगाउने पक्षमा रहेको पाइयो ।

त्यसैगरी, महिलाहरु अरुको स्वास्थ्यबारे केही बढी चिन्तित रहने गरेकाले पनि उनीहरु खोप लगाउने कुरामा बढी गम्भीर हुने गरेको पाइएको छ । ७३ प्रतिशत महिलाले परिवारमा कोरोना लाग्ला भनेर चिन्ता व्यक्त गरेका छन् र यही कुरामा ५८ प्रतिशत पुरुषले मात्र सहमति जनाएका छन् ।

त्यस्तै, सुरक्षाका मापदण्ड अपनाउने विषयमा पनि पुरुषभन्दा महिलाहरु अगाडि रहेको २०२० मा प्रकाशित अध्ययनमा पत्ता लागेको थियो । यी सबै खोजहरुले महिलाहरु आफू र आफू वरपरका सबैलाई सुरक्षित राख्नका लागि भए पनि खोप लगाउन बढी सजग हुने गरेको देखिएको छ ।

यसका साथै महामारीको समयमा महिला र पुरुषले सामना गर्नुपरेका आर्थिक दबाब पनि धेरै फरक रहेको पाइएको छ । यसमा सबैका लागि परिवार र कामबीच सन्तुलन बनाइराख्न सबैभन्दा कठिन थियो । जसमा पुरुषहरुले कामलाई बढी प्राथमिकता दिने गर्छन् भने महिलाहरुले परिवारको ख्याल राख्ने कुरामा धेरै ध्यान दिइरहेका हुन्छन् । पुरुषहरु तलब पाएर बिदा बसे पनि काममै धेरै केन्द्रित हुने गरेको पाइएको छ ।

ग्रिफिथका अनुसार कतिपय पुरुषहरुले काम छाडेर खोप लगाउन जानुलाई विकर्षणका रुपमा लिने गरेका छन् । त्यस्तै, केहीले खोपको साइड इफेक्टले काम प्रभावित होला भनेर सुई नलगाउने निर्णय गरेका पाइएको छ ।

अर्कोतर्फ, महिलाहरुले बच्चाहरुको ख्याल राख्नकै लागि भनेर काम छाड्ने समेत गरेका छन् । उनीहरुले खोपलाई महामारीपछि सामान्य जीवनमा फर्कने माध्यमका रुपमा लिने गर्छन् । मोर्गन भन्छन्, ‘विशेषगरी भर्खरको उमेरका आमाहरुलाई सबै पहिलेको अवस्थामा पुगोस् भन्ने चाहना धेरै छ ।’ टाइमबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७