कर्णालीमा दुई मन्त्री नियुक्त


३ जेष्ठ २०७८, सोमबार
sita gopal 1 scaled 1

सुर्खेत, ३ जेठ । कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन् । गत बुधवार मात्र मुख्यमन्त्रीले तीन जना मन्त्री नियुक्त गरेका थिए । तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सीताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार सीताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन् । उनीहरु दुबै जना माओवादी केन्द्रका सांसद हुन् ।

उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन् । कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो । यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन् । माओवादी स्रोतका अनुसार काँगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन् । यसअघि विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो । तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ ।

अब बाँकी रहेका दुई मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ । भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ । मन्त्रालय फुटाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ भएको छ ।

मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिने क्रममा काँग्रेसले सहयोग गरेको थियो । अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने तयारी मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ । यद्यपी कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक रुपमा जानकारी दिएको छैन । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७