घट्न थाल्यो संक्रमण र मृत्यु


३ जेष्ठ २०७८, सोमबार
korona

काठमाडौं, ३ जेठ । कोरोना भाइरसबाट हुने दैनिक संक्रमण र मृत्युदर केही दिनयता घट्न थालेको छ । यससँगै निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर आइतबार ७ हजार ३ सय ६८ संक्रमित थपिएका छन् । यही अवधिमा १ सय ४५ जनाको मृत्यु भएको छ । ६ हजार ६ सय ४८ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको थियो । १ सय ८७ जनाको ज्यान गएको थियो । ५ हजार ४ सय ५५ जना निको भएका थिए । मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १० हजार २ सय ६३ पुगेको छ । मृतकको संख्या ५ हजार १ पुगेको छ । ३ लाख ३९ हजार ७ सय ५६ जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निषेधाज्ञामा कडाइका कारण संक्रमण र मृत्यु हुनेको संख्या घट्न थालेको बताए । ‘एक सातायताको तथ्यांक हेर्ने हो भने कोरोना संक्रमण र मृत्युदर घट्न थालेको छ’, प्रवक्ता डा. गौतमले भने, ‘सहरी क्षेत्रमा निषेधाज्ञा गरेका कारण संक्रमित हुने र मृत्यु हुनेको दर घट्न थालेको छ ।’

ओम अस्पतालका डा. परशु घिमिरेले भने कोरोनाको ग्राफ घट्यो भनेर अहिले नै ढुक्क हुन नसकिने बताए । ‘म संक्रमित र मृत्यु हुनेको संख्या घट्यो भन्ने मान्न तयार छैन । जो मानिस घर वा अस्पताल आउनुभन्दा अगाडि नै बितेका छन् । उनीहरूको गणितीय संख्या अहिले आइरहेको संख्यामा गणना हुँदैन’, डा. घिमिरेले भने, ‘जसलाई लक्षणहरू देखिएका छन् । उहाँहरू मात्रै परीक्षणका लागि आइरहनु भएको छ ।’ डा. घिमिरेले अहिले पनि नेपाल कोरोना संक्रमणको ‘पिक’मै रहेको दाबी गरे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७