‘जयन्त जन्त होइन, रवाफ देखाउन गएका रहेछन्’


३ जेष्ठ २०७८, सोमबार
bihe

काठमाडौं, ३ जेठ । ना १ झ १६४४ नम्बरको गाडीमा ८–१० जना युवा सहयोगी लिएर वैशाख ३१ गते राति जयन्त कुसवाहा घरबाट ठाँटबाँटसहित छिमेकीको जन्त निस्के । राति १० बजेको थियो ।

४१ वर्षीय जयन्त सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख रीमा देवीका पति हुन् । उपप्रमुख रीमाले सुविधामा पाएको सरकारी गाडी लिएर उनी त्यस रात जन्त गएका थिए । सिम्रौनगढ–७ का जयन्त आफै गाडी चलाएर वडा नम्बर २ नयका टोलमा जन्त गएका थिए ।
सिम्रौनगढ उद्योग वाणिज्य संघ तथा खजानी मावि व्यवस्थापन समितिका पूर्व अध्यक्ष समेत रहेका जयन्त जनता समाजवादी पार्टी (जसपा) का स्थानीय नेता हुन् । उनको गाडीले त्यही विवाहमा गइरहेको अर्को ०१–एवाई–९३६८ नम्बरको भारतीय कारलाई पछाडिबाट ठक्कर दियो । कारमा सामान्य क्षति भए पनि जयन्त त्यसको मतलबै नगरी जन्त पुगे ।

कार चालक दीपेन्द्र दासले उक्त कारका सञ्चालक लवकुश कुसवाहालाई खबर गरेपछि लवकुश विवाहमा रमिरहेका जयन्तलाई सोध्न पुगे । सुरुमा ती दुवै जनाबीच चर्काचर्की पर्‍यो । भनाभन बढ्दै गएपछि जयन्तले लवकुशमाथि हात छाडे । प्रतिरक्षामा लवकुशले पनि जयन्तमाथि हात हाले । लवकुशको हातमा रहेको साँचोले घोचेर जयन्तको गालामा घाउ लाग्यो । अनि जयन्त र उनको जत्था लवकुशमाथि जाइलागे ।

गाउँलेले लवकुशलाई जोगाउन भगाइदिए । उनी भागेर रातभर चौरीमा लुकेर ज्यान जोगाए । तर जयन्त समर्थक ती युवाहरुबाट लवकुशको कार भने जोगिएन । उनीहरुले कारमा आगो लगाइदिए । जलेको कारलाई गाउँबाट पर लगेर पल्टाइदिए । यत्तिमै ती जत्था चुप लागेनन् । लवकुशको घरमै पुगेर उनका बाबु धर्मदेव, भतिज प्रिन्सराज र आमालाई समेत कुटपिट गरे । यी सबै घटना भएका स्थान लगभग २ किमिकै आसपास पर्छन् । लवकुशले भने, ‘गाउँलेहरु नभएको भए मलाई मारिदिन्थे । म भागेर जोगिएँ पनि मेरो गाडी भने जोगिएन ।’

प्रहरीले गाडी जलेको ठाउँमा पुगेर घटना मुचुल्का गरेको छ । ‘पीडितबाट उजुरी आएको छ,’ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दीपक सुवेदीले भने, ‘उजुरीअनुसार छानबिन गर्दैछौं ।’ आफ्नो गाडीले ठक्कर दिए पनि लवकुशले आफूसित दुर्व्यवहार गरेपछि आफ्ना सहयोगीले आक्रोश पोखेको मात्र जयन्तले बताए ।

उनले भने, ‘लवकुशले मलाई कुटेपछि मेरा सहयोगीहरुले गाडीको सिसा फुटाएका हुन् । गाडी जलाएको भने मलाई थाहा भएन ।’ तर गाडी पूर्णरुपमा जलेको घटनास्थलबाट फर्केका एक प्रहरी अधिकृतले बताए । ती प्रहरी अधिकृतले भने, ‘जयन्त जन्त गएका होइन रहेछन्, दादागिरी शैलीमा गाउँमा रवाफ देखाउन गएका रहेछन् ।’

प्रदेश नम्बर २ का सभामुख सरोज यादव निकटस्थ जयन्त सभामुखकै गाउँमा जन्त गएका थिए । बेहुला सन्दीप कुसवाहाको वडाका अध्यक्ष खुशीलाल महतोले आफ्नै घरअगाडि जयन्तसहितका युवाहरुले कारको सिसा फुटाएका कुरा छिमेकीलाई उदृत गर्दै सुनाए । सामाजिक रुपले जिम्मेवार व्यक्तिको अगाडि घटना हुँदा प्रोत्साहित गर्नुभन्दा रोक्नु पथ्र्यो,’ उनले भने, ‘क्षति धेरै भएको छ । कसैको पनि सम्पतिमा आगो लगाउनु उचित होइन ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७