कोरोनाबाट विराटनगरमा थप ६ जनाको मृत्यु


३ जेष्ठ २०७८, सोमबार
koshi hospital l62pUrblgk

विराटनगर, ३ जेठ । कोरोना भाइरस संक्रमणबाट मोरङको विराटनगरका दुई अस्पतालमा उपचार गराइरहेकामध्ये छ जनाको मृत्यु भएको छ । पछिल्लो १० घण्टाभित्र तीन वृद्धसहित छ जना पुरुषको मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालमा पाँच र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एक जना सङ्क्रमितको मृत्यु भएको हो ।

नोबेलमा मृत्यु भएकामध्ये दुईजना प्रदेश– २ को सिरहा र सप्तरी तथा तीन जना प्रदेश–१ को सुनसरी, उदयपुर र विराटनगरका बासिन्दा रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार सिरहाका ६५ वर्षीय वृद्ध पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको छ ।

उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । सप्तरीको कन्चनपुरका ४५ वर्षीय पुरुषको बिहान ८ः ४५ बजेतिर मृत्यु भएको जानकारी प्रबन्धक दाहालले दिए । कोरोना सङ्क्रमण पुष्टि भएका उनलाई उपचारका लागि वैशाख ३१ गते अस्पताल भर्ना गरिएको थियो ।

विराटनगर–४ का ४५ वर्षीय पुरुषको बिहान ४ः२० बजेतिर नोबेलमै मृत्यु भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि जेठ १ गते शनिबार अस्पताल भर्ना गरिएको जानकारी दाहालले दिए । सुनसरीको इनरुवा नगरपालिका–१ का ६२ वर्षीय वृद्ध पुरुषको पनि नोबेलमै उपचारका क्रममा मृत्यु भएको छ । उनलाई उपचारका लागि वैशाख २३ गते अस्पताल भर्ना गरिएको थियो । वृद्धको मृत्यु बिहान ६ बजेतिर भएको दाहालले बताए ।

उदयपुर कटारीका ७४ वर्षीय वृद्ध पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ । दाहालका अनुसार उनको मृत्यु आइतबार राति १०ः३० बजेतिर भएको हो । कोरोनाका कारण अवस्था गम्भीर रहेका वृद्धालाई उपचारका लागि वैशाख २५ गते अस्पताल भर्ना गरिएको उनको भनाइ छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१८ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार उनको मृत्यु बिहान ३ः३० बजेतिर भएको हो । कोरोना पुष्टि भएका पुरुषलाई उपचारका लागि वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७