एमाले नेता तथा साहित्यकार खत्रीको निधन


३ जेष्ठ २०७८, सोमबार
ganesh khatri TDQFIv2qpS

भक्तपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका–९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति शुरु गर्दै तत्कालीन जिल्ला विकास समितिका सभापति भएका खत्री २० वर्षदेखि एमालेमा रहँदै आएका थिए । उनले एमालेबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए पनि पराजित भएका थिए ।

विसं १९९२ जेठ १० गते नखेल, शान्ति गाउँमा जन्मिएका खत्री साहित्य र समाजसेवामा पनि सक्रिय थिए । भक्तपुरमा साहित्य मन्दिरको स्थापनादेखि सडक, पुलको निर्माण एवं विद्यालय स्थापनामा उनले योगदान दिएका छन् । भक्तपुरबाट १८ वर्षदेखि प्रकाशन हुँदै आएको ‘समय समाज’ साप्ताहिकका संस्थापक अध्यक्ष खत्रीले पत्रकारिता क्षेत्रमा पनि योगदान पुर्‍याएको पत्रिकाका अध्यक्ष बालमुकुन्द सुवालले बताए ।

जनजागरण निबन्ध संग्रह, रोगको घर, बारुलो र माहुरी, (बालकथा संग्रह र किशोर निबन्ध संग्रह), ए बाउ घर छोडी जाऊ (गीति कविता संग्रह), हामी अब गर्छौँ (लघुकाव्य), परिवर्तित पाइला (नाटक), खुलाल खत्रीको खोज (अनुसन्धानात्मक पुस्तक) लगायत महाकाव्य, कथा, बालगीत, नाटकलगायत उनका विभिन्न विधाका १४ कृति प्रकाशित छन् ।

सामाजिक विकृति र विसंगतिविरुद्ध साहित्यमार्फत कलम चलाउँदै आएका खत्रीलाई साहित्यमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न संस्थाले सम्मान समेत गरेका थिए । उनका चार छोरा र तीन छोरी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७