पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी


३ जेष्ठ २०७८, सोमबार
FNJ Office111

काठमाडौं, ३ जेठ । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरूलाई चेतावनी दिएको छ । कोरोना महामारीको दोस्रो लहरमा पनि नीजि सञ्चार गृहहरूले श्रमजीवि पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारलाई रोजगारी नखोस्न चेतावनी दिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि बहानामा पत्रकारलाई निस्कासन नगर्न आग्रह गरे । उनले कोभिड–१९ को पहिलो लहरमा जस्तै दोश्रो लहरमा पनि पत्रकारहरुलाई निष्काशन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुको निम्ति महासंघले कानुनी लडाइँ लड्नुको साथै दबाबमूलक काम गरिरहेको बताए । महासंघले कोभिडको दोश्रो लहरमा निष्कासनमा परेका ९ जनाको पुनर्नियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिए । त्यसैगरी ५ वटा सञ्चारमाध्यमलाई ७ दिनभित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले जानकारी दिए ।

उनले भने– ‘सञ्चारमाध्यमबाट पत्रकार निकालिन थालेका छन् । हामीले ९ जनाको पुनर्नियुक्ति गरी समस्या समाधान गरेको दोस्रो लहर शुरु भइसकेपछि । कानुनी लडाइँ र अन्य हिसाबले दबाबमूलक काम पनि पत्रकार महासंघले गरिरहेको छ । श्रम समस्यासँग जोडिएका ५ सञ्चारमाध्यमलाई ७ दिनभित्र समस्या समाधान गर्न आग्रह पनि गरेका छौँ । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय, विभिन्न विभागहरूलाई भेटेर विस्थापित भएकालाई पुर्नस्थापित गर्ने, पेशामा रहेकालाई पेशामा सुनिश्चितता गर्न मन्त्रालयमार्फत दबाब दिएका छौँ ।’

महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकारमाथि उठ्नुपर्ने आवश्यकता औंल्याए । महासंघले महामारीको समयमा पत्रकारहरू फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ । महासचिव पुरीले भने– ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ । फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाइकर्मीलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’

पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारहरुलाई उपचारका लागि सहजीकरण पनि गरिरहेको छ । पत्रकार महासंघको केन्द्रीय कार्यालयमा रहेको आवास गृहमा आइसोलेसन बेड निर्माण गरिएको छ । त्यसैगरी दाङ, रोल्पा, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, बाग्लुङ, पर्वत लगायतका जिल्लामा अक्सिजन, चिकित्सक सहितको आइसोलेसन सेन्टर बनाएर उपचार गर्ने वातावरण बनाएको महासचिव पुरीले जानकारी दिए । काठमाडौं उपत्यकामा संक्रमित पत्रकारका लागि बेड, अक्सिजन, औषधि खोज्ने र बाहिरी जिल्लाबाट रिफर भई आएका पत्रकारलाई काठमाडौंमा बेड मिलाउने, आइसियु, भेन्टीलेटर मिलाउने जस्ता काम महासंघले गरिरहेको उनले बताए ।

महासंघका अनुसार जेठ २ गते सम्म मुलुकभर गरि करिब ८ सय जना पत्रकार कोरोना संक्रमित भएका छन् । २५० भन्दा बढी सक्रिय संक्रमित छन् । ४० जना अस्पतालमा उपचार गराइरहेका छन् । ६ जनाको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ भने संक्रमणबाट १३ जना पत्रकारले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७