प्रणाली भत्कियो, टुट्यो भरोसा : बलबुताका आधारमा सिलिन्डर व्यवस्थापन गर्दै सांसद र मन्त्री


४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, ४ जेठ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले काठमाडौंबाट गृह जिल्ला अर्घाखाँचीका लागि पठाएका १८ थान अक्सिजन सिलिन्डर गत २९ वैशाखमा नागढुंगा प्रहरीले रोक्यो ।

अघिल्लो दिन अक्सिजन सकिएर भैरहवाको भीम अस्पताल, बुटवलको धागो कारखानाको आइसोलेसन र नेपालगन्जको भेरी अस्पतालमा १६ जना संक्रमितको मृत्यु भएको थियो । अक्सिजन वितरण अस्तव्यस्त भएको वेला कागजपत्र केही नभएको भन्दै पाँच घन्टासम्म रोकेपछि प्रहरीले अन्तिममा छोड्यो ।

‘जिल्लाको अस्पतालबाट अक्सिजन अभाव भयो भनेर फोन आएपछि मन्त्री ज्यूले सिलिन्डर पठाउनु भएको हो । तर, सिसिएमसीको सिफारिस र पत्र नभएको भन्दै प्रहरीले पाँच घन्टा रोक्ने काम गर्‍यो,’ मन्त्री रायमाझीका स्वकीय सचिव लीला जिसीले भने । उनका अनुसार मन्त्री रायमाझीले सुरक्षा निकायसँग कुराकानी गरेपछि गाडी सन्धिखर्क पुगेको थियो ।

oxygen 4

जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमले मन्त्री रायमाझीले पठाएका १८ थान सिलिन्डरसहित स्वास्थ्य सामग्री प्राप्त गरेको बताए । ‘जिल्ला अस्पतालमा भएका अक्सिजन सिलिन्डर खाली हुनासाथ रिफिल गर्न लैजानुपर्ने र रिफिलका लागि लामो समय लाइन लाग्नुपर्ने अवस्था थियो । हामीले मन्त्रीज्यू समेत उपस्थित भएको डिसिएमसीको बैठकमा थप अक्सिजन सिलिन्डर आवश्यक पर्ने जानकारी गराएका थियौँ । उहाँले पहल गर्ने प्रतिबद्धता गरेर जानुभएको थियो । सिलिन्डर प्राप्त भएपछि अहिले सहज भएको छ,’ उनले भने ।

अहिले अस्पतालमा अहिले ६० थान अक्सिजन सिलिन्डर छन् । जसमध्ये १८ थान ऊर्जामन्त्री रायमाझी, ६ थान लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री चेतनारायण आचार्य, चार थान सन्धिखर्क नगरपालिका, १४ थान जिल्लामा रहेका विभिन्न उद्योगहरूबाट प्राप्त भएको अस्पतालले जनाएको छ ।

मन्त्री रायमाझीको सचिवालयको सचिवालयले अब जिल्लामा नै अक्सिजन प्लान्ट निर्माण गर्ने गरी बिहीबारबाट काम सुरु हुने जनाएको छ । अहिले अर्घाखाँची अस्पतालका लागि चाहिने अक्सिजन रिफिल गर्ने जिम्मा लुम्बिनी प्रदेशका आन्तरिक मामिलामन्त्री आचार्यले लिएका छन् । ‘हामीले उद्योगसँग समन्वय गरी दैनिक १० देखि १५ सिलिन्डर अक्सिजन भरेर पठाएका छौँ । जिल्लाका लागि अक्सिजन रिफिल गर्दा लाग्ने खर्च गुल्मीनिवासी बालकृष्ण भुसालले गरिरहनु भएको छ,’ मन्त्री आचार्यका स्वकीय सचिव प्रदीप नेपालीले भने ।

कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालमा बिरामीको चाप बढेको छ । ‘पहिला निमोनिया भएर अक्सिजन लेबल ४० पुगेपछि मात्र बिरामी अस्पताल आउने गर्नुहुन्थ्यो । अहिले समस्या देखियो भने फोन गरी परामर्श गर्ने तथा समयमै अस्पताल आउन थाल्नु भएको छ,’ जिल्ला अस्पतालका डा. गौतमले भने, ‘कोरोनाको दोस्रो लहर सुरु भएपछि ६५ जनाको अक्सिजनको सपोर्टमा उपचार गरेर डिस्चार्ज गरेका छौँ । अहिले २५ जनाको अक्सिजनको सपोर्टमा उपचार चलिरहेको छ ।’

दुई सय थान अक्सिजन सिलिन्डर जनकपुर पठाउन थालेको मन्त्री महतोको दाबी

दुई सय थान अक्सिजन सिलिन्डर आफ्नो पहलमा प्रदेश– २ मा आउन थालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले बताएकी छिन् । ‘मेरो पहलमा तत्काल जनकपुरमा दुई सय थान अक्सिजन सिलिन्डर जाँदै छ, थप सिलिन्डर, भेन्टिलेटर तथा अन्य स्वास्थ्य सामग्री साताभित्रै पठाउने प्रयासमा छु,’ महतोले भनिन् । आफूले पठाएको अक्सिजन सिलिन्डर सोमबार राति नै जनकपुर पुग्ने मन्त्री महतोले बताइन् । तर, ती सिलिन्डर कहाँबाट खोजेर जनकपुर पुर्‍याउन थालेको भन्नेबारे मन्त्री महतोले स्पष्ट पारेकी छैनन् ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोदकुमार यादवले मन्त्री महतोले पठाउन लागेको अक्सिजन सिलिन्डरबारे आफूलाई केही जानकारी नरहेको बताए । ‘चीन सरकारबाट अनुदानमा आएका सिलिन्डरमध्ये प्रदेश २ लाई दुई सय थान सिलिन्डर तोकिएको पहिला नै जानकारी आएको थियो,’ डा. यादवले भने ।

मन्त्री महतोले पठाउन लागेका सिलिन्डरबारे आफूहरूलाई कुनै जानकारी नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । ‘धनुषामा मागअनुसारको अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन,’ प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘अक्सिजन वितरणमा एकद्वार प्रणाली लागू गरेका छौँ, मन्त्री ज्यूले पठाउन लागेको सिलिन्डरबारे अहिलेसम्म कुनै जानकारी छैन ।’

मन्त्री आलेले २२ सिलिन्डर अक्सिजन रिफिल गरेर डोटी पठाए

वनमन्त्री प्रेमबहादुर आलेले बाँकेमा २२ थान अक्सिजन सिलिन्डर रिफिल गरेर आइतबार गृह जिल्ला डोटी पठाएका छन् । धनगढीस्थित बोलन्या थली संस्थालाई व्यक्तिगत आर्थिक सहयोग गरेर उनले सिलिन्डर भर्न लगाएका थिए ।

स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार जिल्ला अस्पताल डोटीका खाली सिलिन्डर रिफिल गरिदिन मन्त्री आलेले बाँकेका सिडिओलाई फोन गरेका थिए । ‘अक्सिजन भर्न समस्या भइरहेको थियो । मन्त्रीजीले बाँकेका सिडिओलाई फोन गरिदिएपछि सहजै भर्न सकियो,’ बोलन्या थलीका अध्यक्ष यादव जोशीले भने ।

डोटी जिल्ला अस्पताललाई थप ५० सिलिन्डर र ५० हजार मास्क तथा त्यत्तिकै संख्यामा धनगढीस्थित सेती प्रादेशिक अस्पताललाई पनि सिलिन्डर र मास्क उपलब्ध गराउने तयारी मन्त्री आलेले गरिरहेको उनको सचिवालयले जनाएको छ ।

एमाले सचेतक चौधरी सिलिन्डर, कन्सन्ट्रेटर, रेम्डेसिभिरसहितका स्वास्थ्य सामग्री बोकेर गृह जिल्लामा

एमाले संसदीय दलकी सचेतक शान्ता चौधरी र क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हीराबहादुर केसी अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री बोकेर सोमबार गृह जिल्ला दाङ पुगेका छन् । बेलझुन्डीस्थित प्रदेश कोरोना अस्पताललाई काठमाडौंबाट ल्याएको २० थान अक्सिजन सिलिन्डर, तीन थान कन्सन्ट्रेटर, एक सयभन्दा बढी भाइल रेम्डेसिभिर, दुई सय थान पिपिई सेट, चार हजार थान मास्क, २५ जार स्यानिटाइजर, चस्मालगायतका सामग्री हस्तान्तरण गरिएको सांसद चौधरीले बताइन् । अस्पतालमा अक्सिजन अभाव हुन नदिन हरसम्भव प्रयास गर्ने उनको भनाइ छ ।

‘दाङका सांसद कता हराए ?’ भन्दै जिल्लावासीले सामाजिक सञ्जालमार्फत चासो राखेपछि दाङबाट प्रतिनिधित्व गर्ने सांसदहरूले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटेर स्वास्थ्य सामग्री उपलब्ध गराइदिन माग गरेका थिए । स्वास्थ्यमन्त्रीसँग भएको भेट र उपलब्धिबारे सांसद चौधरीले फेसबुकमा लेखेकी थिइन्, ‘हामी यता छौं, हराएका छैनौं ।’ काठमाडौंबाट स्वास्थ्य सामग्री ल्याउने क्रममा बाटोमा कुनै समस्या नभएको उनले बताइन् । ‘स्वास्थ्य सामग्री बोकेको ट्रक र हामी सँगसँगै थियौँ । कसैले कुनै रोकतोक गरेनन् । कहीं नरोकिएर हामी सरासर दाङ पुग्यौं,’ सांसद चौधरीले भनिन् ।

पूर्वमन्त्री शर्माले ७९ सिलिन्डर जिल्ला पठाए

कोरोनाको दोस्रो लहर सुरु भएयता पूर्वमन्त्री तथा सांसद जनार्दन शर्माले गृह जिल्ला रुकुम पश्चिममा ७९ वटा अक्सिजन सिलिन्डर पु¥याएका छन् । संक्रमण भयावह बन्दै जाँदा जिल्लास्थित स्वास्थ्य संस्थाहरूमा अक्सिजनको माग उच्च भएपछि उनले आफ्नै पहलमा सिलिन्डरको व्यवस्थापन गरेका हुन् ।

जिल्ला अस्पताल सल्लेमा मात्रै सांसद शर्माले ५० लिटरका २९ थान सिलिन्डर उपलब्ध गराएका छन् । त्यस्तै, चौरजहारी अस्पताललाई ५० लिटरका ५० थान सिलिन्डर हस्तान्तरण गरेका छन् । २४ वैशाखमा सिलिन्डर बोकेर उनी आफै चौरजहारी अस्पताल पुगेका थिए । त्यसको एक साताअघि उनले काठमाडौंबाट जिल्ला अस्पतालका लागि सिलिन्डर पठाएका थिए । सांसद शर्माले सिलिन्डर व्यवस्थापन गर्नुअघि जिल्लामा अक्सिजनको अभाव थियो । अहिले स्थानीय तह, स्वास्थ्यसेवा कार्यालय र केही व्यक्तिले समेत सिलिन्डरको व्यवस्था गरिरहेका छन् ।

सांसदको डेरामा अक्सिजन सिलिन्डर

गएको शनिबार एमाले सांसद गंगा चौधरीको शान्तिनगरस्थित डेरामा अक्सिजन सिलिन्डरको थुप्रो देखियो । देशभरि अक्सिजनको अभाव भइरहेका वेला उनले लुकाउन खोजेको आशंकामा स्थानीयले केही सामाजिक अगुवालाई बोलाएर सबै जानकारी दिए । विवाद बढ्दै गएपछि प्रहरी पनि घटनास्थलमा पुग्यो । सोधपुछ गर्दा सांसद चौधरीले केही दिनअघि मात्रै चीनबाट अनुदानमा प्राप्त ६–७ थान सिलिन्डर गृह जिल्ला दाङ लैजान डेरामा राखेको बताइन् ।

सिलिन्डर मात्र नभई दाङको अस्पताललाई बुझाउने भनेर सांसद चौधरीले स्वास्थ्य मन्त्रालयबाट औषधि समेत लिएकी थिइन् । कागजपत्र हेरेपछि प्रहरीले सिलिन्डर छाड्यो । तर, अचम्म ! स्वास्थ्य मन्त्रालयले चिनियाँ अनुदानमा प्राप्त सिलिन्डर दाङका कुनै पनि अस्पताललाई दिएको छैन ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई २८ वैशाखमा पठाएको पत्रमा वीर, पाटन र शिक्षण अस्पताललाई ५०–५०, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ४५, सिभिल हस्पिटललाई ४०, सेती प्रादेशिक अस्पताल धनगढीलाई ३५, सशस्त्र प्रहरी अस्पताललाई २५ तथा किस्ट मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज, कीर्तिपुर आयुर्वेद रिसर्च सेन्टर र मनमोहन अस्पताललाई २०–२० वटा सिलिन्डर उपलब्ध गराउन उल्लेख छ । मन्त्रालयले बनाएको सूची पनि तीन सय ९५ थान सिलिन्डरको मात्रै छ । जब कि चीनले चार सय सिलिन्डर उपलब्ध गराएको थियो ।

यो एउटा प्रतिनिधि घटना मात्र हो– महामारीको वेला स्रोत–साधनको कसरी वितरण भइरहेको छ भन्ने । आवश्यकताअनुसार सिलिन्डरसहितका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयले ‘च्यानल’अनुसार पठाउनुपर्ने हो । तर, सत्ता र शक्तिको आडमा मन्त्रीदेखि सांसदसम्मले आफै ‘कब्जा’ गरेर जिल्ला लगिरहेका छन् । यसमा चुनावी राजनीति जोडिएको छ ।

महामारीमा सत्तानिकट सांसदहरूबीच स्वास्थ्य सामग्री आफ्नो निर्वाचन क्षेत्रमा लैजाने होड चलिरहेको छ । यसका लागि सम्बन्धित अस्पतालबाट समेत उनीहरूले निर्णय गराउने गरेका छन् । तर, पहुँच नभएका सांसदका निर्वाचन क्षेत्रमा भने न्यूनतम सुविधा समेत पुग्न सकेको छैन । ‘यसले मन्त्री र सांसदलाई नै राज्यप्रणालीमाथि विश्वास छैन भन्ने देखाउँछ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘स्वास्थ्य सामग्रीको विवरणमा एकदमै अव्यवस्थित र राजनीति देखिएको छ ।’

एमाले सांसदले पनि पोखरा पुर्‍याए सिलिन्डर र कन्सन्ट्रेटर

पूर्व स्वास्थ्यमन्त्री एवं कास्की १ बाट निर्वाचित सांसद एवं एमाले नेता खगराज अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई तीन थान सिलिन्डर र तीन थान कन्सन्ट्रेटर हस्तान्तर गरेका छन् । त्यसैगरी उनले प्रदेश संक्रामक तथा सरुवा अस्पताल सिसुवाका लागि एक थान सिलिन्डर र एक थान कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् । उनले रूपा गाउँपालिकाको अस्पताल र सोही गाउँपालिकाको थुम्सिकोट स्वास्थ्यचौकीका लागि एक–एक थान कन्सन्टे«टर हस्तान्तरण गरेका छन् ।

काठमाडौंबाट र केही व्यवसायीसँग सहयोग मागेर ती सामग्री हस्तान्तरण गरेको उनले जानकारी दिए । तर, सहयोगदाताको नाम भने उनले सार्वजनिक गरेका छैनन् । सामग्री ल्याउन आफूले कतैबाट पनि समस्या नझेलेको उनले बताए । पूर्वमन्त्री अधिकारीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि निजी क्षेत्रले हातेमालो गर्दै स्थापना गर्न लागेको अक्सिजन प्लान्टका लागि आफ्नो तलबभत्ताबाट प्राप्त हुने एक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । रूपा गाउँपालिकाले कोभिड संक्रमणलाई मध्यनजर गर्दै अस्पतालका लागि १७ वटा सिलिन्डर खरिद गरेको छ ।

पूर्वमन्त्री एवं माओवादी सांसदले रोल्पा पठाए स्वास्थ्य सामग्री

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफ्नो निर्वाचन क्षेत्र रोल्पामा कोभिड नियन्त्रण, रोकथामका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री पठाएका छन् । पुनले आइतबार रोल्पा अस्पताल, परिवर्तन, थबाङ र गंगादेव गाउँपालिकाका लागि अक्सिजन सिलिन्डरसहित अन्य स्वास्थ्य सामग्री पठाएको बताए । त्यस्तै, दुई सय एन्टिजेन किट पठाएको र आजभोलि नै जिल्लामा पुग्ने उनको सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका नेतासमेत रहेका पुनले यसअघि रोल्पा नगरपालिकाका साथै सुनीलस्मृति, सुनछहरी र माडी गाउँपालिकाका लागि ५० सिलिन्डर अक्सिजन पठाएका थिए । यद्यपि, ती सामग्री भने स्थानीय तहकै लगानीमा पठाइएको उनको सचिवालय सदस्य जीवन रोका मगरले जानकारी दिए । जिल्लामा स्वास्थ्य सामग्री पठाउँदा काठमाडौंबाट सीधै रोल्पा पठाइएकाले त्यस्तो समस्या नभएको बताइएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७