हुम्लाका पाँच गाउँपालिकामा फैलियो कोरोना


४ जेष्ठ २०७८, मंगलवार
humla

हुम्ला, ४ जेठ । सात गाउँपालिका रहेको हिमाली जिल्ला हुम्लाका पाँच गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा देखिएको छ । पाँच गाउँपालिकामा रहेका ग्रामीण बस्तीहरुमा कोरोनाको आशङ्का लागेपछि परीक्षण गर्दा सङ्क्रमितको संख्या दैनिक बढ्दै गएको पाइएको हो ।

खार्पुनाथ र उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाबाहेक सिमकोट, सर्केगाड, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा कोरोना संक्रमणको जोखिम बढेको छ । नाम्खा र खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म परीक्षण नगरिएकाले सङ्क्रमित नभेटिएको हो ।
हालसम्म जिल्लाका पाँच गाउँपालिकामा ३९४ जनामा कोरोना परीक्षण गर्दा ७५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ जना सङ्क्रमण मुक्त भइसकेका छन् ।

हालसम्म ताँजाकोटमा ९८ जनामा परीक्षण गर्दा २९ मा सङ्क्रमण पुष्टि भएको छ । अदानचुलीमा २० जनामा परीक्षण गर्दा सात, सर्केगाड गाउँपालिकामा ७४ मा ११ तथा चङ्खेली गाउँपालिकामा सोमबार मात्रै ४४ जनामा परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए । यस्तै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा गरिएको परीक्षणमा हालसम्म २० जनामा सङ्क्रमण देखिएको थियो ।

जिल्लाका स्थानीय तहले आफ्ना मातहतका गाउँमा बिरामी संख्या बढेपछि आफ्नै खर्चमा एन्टिजेन किट खरिद गरी कोरोना परीक्षणको दायरालाई बढाइरहेका छन् । जिल्लामा पहिलो पटक नेपालगञ्ज र सुर्खेतबाट आएका आठ यात्रुको सिमकोट विमानस्थलमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसयता दैनिकरूपमा स्वास्थ्य सेवा कार्यालयले कोरोना परीक्षण गरिरहेको र सङ्क्रमित फेला पर्ने क्रम बढिरहेको कार्यालय प्रमुख प्रेमबहादुर सिंहले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७