राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको चरम अभाव


४ जेष्ठ २०७८, मंगलवार
gajendra hospital

सप्तरी, ४ जेठ । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन् ।

उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि तनावमा आएका डा. झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारीे, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरेका हुन् ।
अस्पतालका सिलिण्डर रित्तिँदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा.झाले बताए । अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।

बाँकी रहेका सिलिण्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँँदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै संक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे । अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली अक्सिजन सिलिण्डर लाममा बसेको छ ।

अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६१६ जना कोरोना संक्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा. झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७