बनेपा आजदेखि ‘शिल’, मर्निङवाक समेत बन्द


४ जेष्ठ २०७८, मंगलवार
banepa

काभ्रेपलाञ्चोक, ४ जेठ । जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिकामा आज (मंगलबार) रातिदेखि ‘शिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर शिल गर्ने निर्णय गरेको हो ।

कारोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगर प्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र शिल गर्ने निर्णय गरिएको हो । ‘औषधि पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ’, वादेले भने ।

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउने समेत उल्लेख गरिएको छ । साथै, सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मी बाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

कोरोना संक्रमणको दोस्रो लहरमा नगरमा हाल जिल्लामा रहेका कुल कोरोना संक्रमितमध्ये बनेपामा ३५.४ प्रतिशत अर्थात् ६९७ मा संक्रमण भएको छ । नगरमा हालसम्म १० जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा कोरोना संक्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्यांकले देखाएको छ ।
जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौंरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ संक्रमित होम आइसोलेसनमा छन् । हालसम्म जिल्लाका ८५ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७