नाष्टले तयार गरेको अक्सिजन सिलिण्डरको सफल परीक्षण


४ जेष्ठ २०७८, मंगलवार
iamgfasdgkagkasgm1621340793

काठमाडौं, ४ जेठ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले नेपालमा पहिलो पटक तयार गरेको अक्सिजन ग्याँस सिलिण्डरको सफल परीक्षण भएको छ ।

कोभिड–१९ को महामारी फैलिएको र अक्सिजन सिलिण्डरको चरम अभाव भइरहेको बेला नयाँ सिलिण्डर तयार गरी परीक्षण गरिएको हो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सिलिन्डर परीक्षणको निरीक्षण गरे । मन्त्री श्रेष्ठले वैज्ञानिकसँग सिलिण्डर उत्पादन गर्न सक्ने अवस्थाबारे जानकारी लिएका थिए ।

अब नेपालले प्रेसर धान्न सक्ने सिलिण्डर उत्पादन गर्न विभिन्न कम्पनीलाई अनुमति दिने जनाइएको छ । नाष्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्र ढकालले प्रेसर धान्न सक्ने सिलिन्डर तयार भएको जानकारी दिए । उनले भने, ‘सुरक्षाको अन्तिम उपाय अवलम्बन गर्न बाँकी छ । केही दिनमा सिलिण्डर उत्पादन गर्ने कम्पनीसँग छलफल गरी व्यावसायिक उत्पादन गर्न अनुमति दिनेछौं ।’

सफल परीक्षण भएको सिलिन्डर वैज्ञानिक शंकर ढकालको समूहले तयार गरेको हो । सो ग्याँस सिलिण्डरमा ग्याँसको दबाब २२५ बारसम्म भए सुरक्षित रहन्छ । परीक्षण गर्दा ग्याँसको दबाब २३५ बारसम्म पुगेपछि सिलिण्डरमा जोडिएको पाइपमा सामान्य समस्या आएको थियो । ‘त्यसैले अन्तिम परीक्षण गर्न बाँकी रहेको हो’, डा. ढकालले भने ।

नेपालमा यस्तो सिलिण्डर बनाइने गरेको छैन भने आयातित सिलिण्डरको गुणस्तर परीक्षण समेत हुने गरेको छैन । मन्त्री श्रेष्ठले ठूला अस्पतालमा अक्सिजन उत्पादन प्लान्ट नहुनु विडम्बना भएको बताउँदै भने, ‘विगतमा अस्पताल सञ्चालन अनुमति दिँदा अक्सिजन प्लान्टको व्यवस्था अस्पतालभित्र अनिवार्य हुनुपर्ने नियम बनाइएको भए आज अभावको समस्या भोग्नु पर्ने थिएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७