सहयोग माग्न गएका बादललाई नेपालले भने, ‘खिमलाललाई मैले उठाएको हुँ, अन्यथा गर्न सक्दिनँ’


४ जेष्ठ २०७८, मंगलवार
madhav kumar nepal rambahadur thapa

काठमाडौं, ४ जेठ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई सहयोग गर्न नसक्ने स्पष्ट पारेका छन् । मंगलबार राष्ट्रियसभा उपनिर्वाचनका लागि सहयोग माग्न कोटेश्वरस्थित नेपाल निवास पुगेका गृहमन्त्री थापालाई राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो उम्मेदवार डा.खिमलाल देवकोटा रहेको भन्दै आफूले सहयोग गर्न नसक्ने जवाफ दिएका हुन्।

नेता नेपालले सहयोग गर्न नसक्ने बताएको उनको सचिवालयले स्पष्ट पारेको छ । वरिष्ठ नेताका प्रमुख स्वकीय सचिव मोहन गौतमले विज्ञप्ति मार्फत भनेका छन्, ‘आज कमरेड राम बहादुर थापा कोटेश्वर निवासमा आई पर्सि हुने राष्ट्रियसभा निर्वाचनमा सहयोग गर्न भनेकोमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधव कुमार नेपालले उम्मेद्वारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेद्वार वनाएकोले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो ।’

वरिष्ठ नेता नेपालको उत्तरपछि गृहमन्त्री थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौँ भन्ने प्रस्ताव गरेको गरेका थिए । गौतमले भनेका छन्, ‘त्यसपछि कमरेड थापाले नै त्यसो भए मतदाताहरूलाई स्वविवेक प्रयोग गर्न भनौं भन्ने प्रस्ताव गर्नुभएको हो । मतदाताले स्वविवेक प्रयोग गर्ने कुरामा सहमति छ र कतिपय स्थान एवम् मिडियामा प्रचार गरिएजस्तो अन्य कुनै सहमति भएको छैन ।’

कार्यदल बनाएर एमाले सहमति उन्मुख भएको बेला राष्ट्रियसभा सदस्यको उपनिर्वाचनले बिथोल्ने खतरा देखिएको छ । जेठ ६ गते बागमती प्रदेशका लागि हुने राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका तर्फबाट बादल उम्मेदवार बनेका छन्। वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूह निकट मानिएको देवकोटा विपक्षी गठबन्धन कांग्रेस–माओवादी समेतको उम्मेदवार हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७