आठ बुँदे सहमति लगत्तै ठाकुर र यादवबीच अर्को विवाद


५ जेष्ठ २०७८, बुधबार
Upendra mahantha

काठमाडौं, ५ जेठ । केपी ओली नेतृत्वको सरकार ढाल्ने कि सरकारविरोधी गठबन्धनमा नलाग्ने भन्ने विषयमा विवाद बढ्दै गई झण्डै फुट्न लागेको जनता समाजवादी पार्टीलाई विभाजनबाट रोक्न उक्त पार्टीको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार ८ बुँदे सहमति गरेका छन् ।

तर ८ बुँदे सहमति सार्वजनिक भएलगत्तै जसपाभित्र अर्को विवाद सुरु भएको छ । ८ बुँदे सहमति गरेकै दिन मंगलबार ठाकुर पक्षले संसद् सचिवालयलाई चिठी लेखेर राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको जानकारी गराएको छ ।

वैशाख ३० गते बसेको पार्टीको संसदीय दलको बैठकले महतोलाई दलको नेता चयन गर्ने निर्णय गरिएको चिठीमा उल्लेख गरिएको छ । उक्त दिन ठाकुर र महतो पक्षका सांसदहरू भक्तपुरको डोलेश्वर रिसोर्टमा जम्मा भई बैठक गरेका थिए । उक्त बैठकमा महतोलाई दलको नेता चयन गर्ने सहमति बहुमतबाट गरिएको बैठकमा सहभागी जसपाका सांसद प्रमोद साहले बताए ।

यादव पक्षका नेताहरूले ठाकुर र यादवबीच भने ८ बुँदे सहमतिसँगै महतोलाई संसदीय दलको नेता चयन गरिएको विषय पनि समाप्त भएको बताएका छन् । ८ बुँदे सहमतिमा महतोलाई दलको नेता चयन गरिएको विषय उल्लेख गरिएको छैन । त्यसैले संसद् सचिवालयमा पठाएको चिठी आधिकारिक नभएको यादव पक्षधर नेताहरूको भनाइ छ ।

सचिवालयमा पठाइएको चिठीमा ठाकुरले मात्र हस्ताक्षर गरको छन् । संसद् सचिवालयमा पठाइएको चिठी विधि र प्रक्रियाविपरीत रहेको यादव पक्षीय नेता इस्तियाक राईले बताए । ‘विधि, विधान र प्रक्रियाविपरीत सचिवालयमा पठाएको चिठी आधिकारिक हुन सक्दैन,’ राईले भने, ‘महतोलाई दलका नेता चयन गर्ने विषयमा कुनै सहमति भएको छैन ।’

तर ठाकुरपक्षीय सांसद साहले भने विधि प्रक्रिया र विधानबमोजिम बहुमतबाट महतोलाई दलका नेता चयन गरिएको बताए । ‘सबै प्रक्रिया पूरा गरेर महतोलाई दलको नेता चयन गरिएको छ,’ साहले भने ।

महतोलाई दलका नेता चयन गरिएको विषय संसदीय दलको मामिला भएकोले ठाकुर र यावदबीच भएको ८ बुँदे सहमतिमा उल्लेख नगरिएको साहको भनाइ छ । ८ बुँदे सहमति जसपा तत्काल सरकारमा नजाने उल्लेख गरिएको छ । राष्ट्रिय सहमतिको सरकार बनेमा या जसपाले सरकारको नेतृत्व गर्ने अवसर आएमा भने सरकार गठनको लागि अगाडि बढ्ने सहमति ठाकुर र यादवले गरेका छन् । सोमबार ठाकुर र महतोबीच जसपाको पार्टी कार्यालय बालकुमारीमा गोप्य बैठक गरिएको थियो । नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७