भूकम्पले लमजुङमा भागाभाग : घरहरु भत्किए, घाइतेको संख्या बढ्न सक्ने


५ जेष्ठ २०७८, बुधबार
1621389040 Lamjung EQ 1 1200x560 1

लमजुङ, ५ जेठ । आज (बुधबार) बिहानै गएको भूकम्पका कारण लमजुङमा भागाभाग मच्चिएको छ । आज विहान ५ः४२ बजे लमजुङलाई केन्द्रविन्दू बनाएर गएको ५.८ म्याग्निच्युटको भूकम्पका कारण यहाँका सात वटा घर भत्केका छन् ।

भूकम्पले घर भत्किँदा चोट लागेर तीन जना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एक जना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकाले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ः४२ मिनेटमा ५.८ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।
भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भागाभाग गरेका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७