कति छ अमेरिकी राष्ट्रपति बाइडेन र ह्यारिसको कमाइ ?


५ जेष्ठ २०७८, बुधबार
biden1621395543

काठमाडौं, ५ जेठ । डोनाल्ड ट्रम्प प्रशासनमा बेवास्ता गरिएको राष्ट्रपतिको आयकर सार्वजनिक गर्ने ह्वाइटहाउसको पुरानो परम्परा यस वर्ष जो बाइडेनले पुनः स्थापित गराएका छन् ।

पेस गरिएको डाटाअनुसार राष्ट्रपति बाइडेन र प्रथम महिला जिलले गत वर्ष ६ लाख सात हजार डलर आम्दानी गरेका थिए । उनीहरुले यसको एक लाख ५७ हजार डलर आयकर तिरेका छन् । बाइडेनको वर्तमान पारिश्रमिक भने चार लाख डलर रहेको छ ।

उनीहरुको आम्दानी सन् २०१९ मा ९ लाख डलरबाट झरेर २०२० मा त्यति पुगेको हो । २०१९ मा बाइडेन र जिलले भाषण, किताबको बिक्री, शैक्षिक संस्थामा उच्च पदलगायत स्रोतमार्फत कमाइ गरेका थिए ।

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफूले तिर्ने गरेको करबारे कहिल्यै सार्वजनिक गरेनन् । ‘वाटरगेट’ युगपछि आफ्नो आयकर सार्वजानिक नगर्ने उनी पहिला त्यस्ता राष्ट्रपति हुन् । सोमबार यी जानकारीहरु सार्वजानिक गर्नुअघि ह्वाइटहाउसकी प्रेस सचिव जेनले भनिन्, ‘हामीले यस किसिमले राष्ट्रपतिको करसम्बन्धी डाटा सार्वजानिक गरिरहने छौँ, जुन सबै अमेरिकी राष्ट्रपतिबाट अपेक्षा गरिन्छ ।’

सोमबार पेस गरिएको डाटामा व्यस्त चुनाव अभियानको वर्षमा बाइडेनले २५.९ प्रतिशत आयकर तिरेको पाइएको छ । यसका साथै उनले २०२० मा ३० हजार डलर बराबर रकम १० वटा च्यारिटीलाई दान दिएको पनि उल्लेख छ ।

यसमा जिल र जो बाइडेनसँग १२ लाखदेखि २८ लाख डलरका बीच व्यक्तिगत सम्पति रहेको पनि खुलासा भएको छ । बाइडेनले अहिले चार लाख डलरभन्दा धेरै कमाउने अमेरिकीहरुमाथि कर वृद्धि गर्ने प्रस्ताव पनि छन् ।

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र उनका पतिले पनि आफूले तिरेको कर र आम्दानीको डाटा सार्वजानिक गरेका छन् । उनीहरुको कुल आम्दानी १६ लाख ९५ हजार डलर रहेको देखाइएको छ । उनीहरुले ३६.७ प्रतिशत दरमा ६ लाख २१ हजार डलर कर तिरेका छन् । यसका साथै उनीहरुले २७ हजार डलर च्यारिटीमा दान गरेको पनि देखाइएको छ ।

ह्यारिसका पतिले एमहोफले निजी वकिलका रुपमा काम गर्ने हुनाले नै उनीहरुको आम्दानी बाइडेन दम्पतीभन्दा धेरै बढी भएको बताइएको छ । उनले ह्यारिस उपराष्ट्रपतिका लागि मनोनीत हुनुअगाडि आफूले काम गर्ने ल फर्मबाट झन्डै १२ लाख डलर कमाइ गरेको बताइएको छ । यसका साथै ह्यारिसले उनको किताब, ‘द ट्रयुत्स वी होल्ड’बाट पनि तीन लाख ५९ हजार डलर अड्भान्स रकम प्राप्त गरेकी थिइन् ।

तर, यति हुँदा पनि उनीहरुको आम्दानी २०१९ को तुलनामा ४६ प्रतिशतले घटेको छ । २०१९ मा ह्यारिस दम्पतीले ३० लाख ९५ हजार डलर कमाइ गरेका थिए । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७