विक्षुब्ध खोपडी, प्रतिनायक र सामर्थ्य
सिङ्गो देश
महामारीले आक्रान्त भएको बेला
पीडामा छटपटाइरहेको बेला
म अशान्त भएको छु
मलाई, मिथ्या वृत्तान्त सुन्नु छैन
तर, तिमी, सत्य चपाएर
झुटो बोलिरहेछौ ।
मधौरो
शय्या अभावमा उद्विग्न भएको बेला
प्राण वायु नपाएर तड्पिरहेको बेला
उपचार नपाएर मरिरहेको बेला
म, विक्षिप्त भएको छु
मलाई, राजनीतिप्रति कुनै चासो छैन
तर, तिमी, सत्ता लुछाचुँडीको खेलमा
निर्लिप्त खेलिरहेछौ ।
गरिबको घरमा
रासन पानी रित्तिएको बेला
चुलो बल्न छाडेको बेला
म अधीर भएको छु
मलाई, भाषणमा मोह छैन
तर, तिमी, कोही भोको पर्दैन, कोही भोकै मर्दैन भन्दै
टेलिभिजनमा बर्बराईरहेछौ ।
जनता
भयभीत छन् आतङ्कित छन् त्रस्त छन्
व्याकुल भएका छन्
म, क्रुद्ध छु
मलाई, हँस्सी मजाक गर्नु छैन
तर, तिमी, प्रहसन गरिरहेछौ ।
भोक बिर्सेर
अभाव बिर्सेर
दुःख, र कष्ट बिर्सेर
मन, बहलाउनु छैन
तर, तिमी
दिल्लगी गरिरहेछौ ।
यो बेला
तिमीले
सत्ता चलाउने बहानामा
अराजकता चलाएको र
देश बरबाद पारेको
कसरी हेरिरहूँ ?
२ जेठ २०७८
ढोला हिटी
निषेधाज्ञाको १८ औँ दिन ।