राष्ट्रिय सभा उपनिर्वाचन : सत्ता पक्षलाई धक्का, एमालेका उम्मेदवार गृहमन्त्री नै पराजित

मेरो मात्र होइन, संविधान र संघीयताको पनि विजयी भएको छ : देवकोटा


७ जेष्ठ २०७८, शुक्रबार
khimlal devkota.jpg .2021 05 21

काठमाडौं, ७ जेठ । बागमती प्रदेशमा बिहीबार भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा विपक्षी गठबन्धन विजयी भएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धन दलहरूका तर्फबाट उठेका स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटाले सत्तारुढ नेकपा एमालेका उम्मेदवार गृहमन्त्री रामबहादुर थापा बादललाई पराजित गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई र उपेन्द्र यादव तथा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेका देवकोटाले पाँच हजार ८८ मतभार ल्याएर विजयी भएका हुन् । देवकोटाका प्रतिद्वन्द्वी बादलले चार हजार १४ र अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले एक सय ३४ मतभार प्राप्त गरेका छन् ।

राष्ट्रिय सभा उपनिर्वाचनमा प्रदेश सांसद एकजनाको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रतिनिधिको एकजनाको १८ मतभार हुन्छ । मत परिणामअनुसार स्थानीय तहबाट देवकोटाले एक सय २८ मतदाताको २३ सय चार मतभार प्राप्त गरेका छन् । यस्तै, बादलले एक सय तीन मतदाताको १८ सय ५४ मतभार प्राप्त गरेका छन् भने तामाङले दुई मतदाताको ३६ मतभार प्राप्त गरेका छन् ।

यसैगरी, प्रदेश सभातर्फ देवकोटाले ५८ मतदाताको २७ सय ८४ मतभार प्राप्त गरे भने बादलले ४५ मतदाताको २१ सय ६० मतभार प्राप्त गरे । यस्तै, तामाङले दुई मतदाताको ९६ मतभार प्राप्त गरेका छन् । देवकोटा र बादलबीच स्थानीय तहतर्फ चार सय ५० र प्रदेश सभातर्फ ६ सय सय २४ मतभारको फरक रहेको छ । बागमतीमा एमालेको एकल बहुमत भए पनि पार्टीभित्रको विवादको असर परेको छ ।

कोरोना संक्रमित २५ जना मतदाता पनि मतदान प्रक्रियामा सहभागी भए । मतदान प्रक्रियामा सहभागी हुनेमा २० जना स्थानीय तहका प्रमुख–उपप्रमुख र पाँचजना प्रदेश सांसद संक्रमित रहेका छन् । संक्रमित मतदाताका लागि निर्वाचन कार्यालयले ‘ग’ केन्द्र नामकरण गरेर छुट्टै मतदान केन्द्रको व्यवस्था गरेको थियो । जहाँ पिपिई लगाएर पूर्ण स्वास्थ्य सुरक्षा मापदण्डसहित आठ जना कर्मचारी सहभागी भएका थिए ।

एमाले विवादले देवकोटालाई फाइदा, बादललाई झट्का
एमालेभित्रको आन्तरिक विवादका कारण राष्ट्रिय सभा उपनिर्वाचनका उम्मेदवार थापा पराजित हुनुपरेको छ । एमालेसँग जित सुनिश्चित गर्ने मत भए पनि प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता खनाल र नेपाल समूह विभाजित हुँदा त्यसको असर चुनावमा देखिएको हो ।

गठबन्धनमा रहेको दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेभित्र ओलीले एकलौटी शासन गर्न खोज्दाको परिणाम चुनावमा देखिएको प्रतिक्रिया दिएका छन् । ‘ओलीजीले पार्टीलाई मिलाएर लैजान सक्नु भएन । त्यसले गर्दा हामीले उठाएको स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । यो हाम्रा लागि खुसीको कुरा भए पनि राजनीतिक संस्कारका हिसाबले ठीक होइन,’ वरिष्ठ नेता पौडेलले भने ।

उनले हरेक पार्टीको मुख्य नेताले सबैलाई मिलाएर लैजानुपर्ने सन्देश यो चुनावले प्रवाह गरेको बताए । यस्तै, गठबन्धनकै अर्को दल माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले पनि चुनावी परिणामले ओलीको रवैयालाई गतिलो सन्देश दिएको बताए ।
‘यसले प्रधानमन्त्री ओलीको व्यवहार कस्तो छ भन्ने कुरा छर्लंगै देखाएको छ,’ नेता पुनले भने, ‘साथै, पार्टी वा चुनाव चिह्नभन्दा पनि राजनीतिक व्यवहारले चुनाव जितिन्छ भन्ने पनि पुष्टि भएको छ ।’ उनले विचार, प्रवृत्ति मिल्ने शक्तिहरू एक ठाउँमा उभिँदा गलत चिजलाई परास्त गर्न सकिन्छ भन्ने यसले पुष्टि गरेको भन्दै आगामी दिनमा राजनीतिक दलहरूले यसबाट सिकेर अघि बढ्नुपर्ने बताए ।

मेरो मात्र होइन, संविधान र संघीयताको पनि विजयी भएको छ : देवकोटा
आज मैले मात्र होइन, सिंगो संविधान र संघीयताले पनि जितेको छ । संविधान, संघीयताको पनि जित भएकाले यो नयाँ इतिहास बनेको छ । यो विजय संविधान, संघीयता र विधि–प्रणालीको विजय हो । समग्र प्रदेश र स्थानीय तहका साथै संसदीय व्यवस्था प्रणालीको, विधिको शासनमा आस्था राख्नेको विजय भएको हो । मेरो जित प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएका नागरिक समाजका कारण सम्भव भएको हो ।

प्रतिनिधिसभा विघटन हुँदा जसरी स्वस्फुर्त रूपमा नागरिक समाज उर्लिएर आएका थिए । त्यस्तै, मेरो उम्मेदवारीप्रति पनि आमनागरिक समाज उर्लिएका थिए । मलाई उहाँहरूले जिताउनुभएको हो । स्वतन्त्र उम्मेदवारीमा नेपालका प्रमुख राजनीतिक दलको प्रस्ताव र समर्थनमा प्राप्त विजय ऐतिहासिक हो ।

मेरो स्वतन्त्र उम्मेदवारीमा उहाँहरूले उच्च सम्मानका साथ मेरो उम्मेदवारी दिलाउन साथ गर्नुभयो, सबैभन्दा पहिला उहाँहरूप्रति आभारी छु । मलाई विजयी गराउने स्थानीय तहका पदाधिकारी, प्रदेश सांसदहरूप्रति आफ्नो जवाफदेहिता रहनेछ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७