सी चिनफिङलाई तेस्रो पटक चीनको राष्ट्रपति बन्ने बाटो खुल्यो


१३ फाल्गुन २०७४, आईतवार
Chinas President Xi Jinping

काठमाडौं, फागुन १३ चीनले राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने संवैधानिक प्रावधान हटाउने भएको छ। यो सँगै चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ। चीनको सरकारी समाचार संस्था सिन्हले जनाए अनुसार हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले ‘राष्ट्रपति तथा उपराष्ट्रपति दुई कार्यकाल भन्दा बढी नरहने’ संविधानको प्रावधान हटाउन प्रस्ताव गरेको छ।

xi jinping Chinas President Xi Jinping

शनिबार सम्पन्न पार्टीको पोलिटब्यूरो बैठकले गरेको यो प्रस्ताव सोमबार सुरु हुने केन्द्रिय समितिको विस्तारित बैठकले अनुमोदन गर्ने बताइएको छ। पार्टीको यो निर्णयलाई मार्चमा हुने चीनको नेशनल कंग्रेसको अधिवेशनले अनुमोदन गरी संविधान परिवर्तन गर्न सक्नेछ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को १९औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सोमबारदेखि बेइजिङमा सुरु हुँदैछ । बैठकले १३ औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको नेतृत्व तथा महत्वपूर्ण विधेयकहरुको तर्जुमा गर्नेछ ।

सीपीसीका पूर्ण बैठकहरु निकै महत्वपूर्ण मानिन्छन् । राष्ट्रिय नीति निर्धाण गर्न, नेतृत्व चयन गर्न, महत्वपूर्ण परिपाटी लागू गर्न तथा ठूला निर्णय गर्नका लागि पूर्ण बैठकको आयोजना हुने गर्दछ । ‘प्लेनरी सेसन’ भनिने पूर्ण बैठक सीपीसीको महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली अंग मानिन्छ । यसमा केन्द्रीय सदस्य, केन्द्रीय वैकल्पिक सदस्य, केन्द्रीय अनुशासन आयोगका सदस्यहरु र केन्द्रीय कार्य विभाग तथा संगठन विभागका पदाधिकारीहरु सहभागी हुन्छन् ।

गत कात्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीको विचारधारालाई ‘सी चिनफिङ वाद’को नाम दिएको थियो। सो सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए।

त्यही सम्मेलनबाट राष्ट्रपति सी आगामी पाँच वर्षका लागि पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए। त्यतिबेला सीको उत्तराधिकारी को हुने भन्ने विषय भने अनुत्तरित थियो। सन् २०१३ मा हु जिन्ताओका उत्तराधिकारीका रुपमा सत्तामा आएका सी चीनमा माओपछिकै शक्तिशाली नेता मानिएका छन्। चीनमा माओको उदयपछि १९५० मा जन्मेका उनी नयाँ पुस्ताका नेता हुन्। उनका पिता चीनका उपप्रधानमन्त्री थिए।

राष्ट्रपति बनेदेखि नै सेना र सत्ताका सम्पूर्ण अंगमा पकड जमाएका सी ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ अवधारणा अगाडि सारेपछि अन्तर्राष्ट्रिय राजनीतिमा पनि शक्तिशाली बन्दै गएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७