धेरै समय मोबाइल चलाउनेले साथी र परिवारप्रति ध्यान दिँदैनन् : अध्ययन्


९ जेष्ठ २०७८, आईतवार
mobile
सांकेतिक तस्वीर

काठमाडौं, ९ जेठ । स्मार्टफोन प्रयोगकर्ताहरु साथी वा परिवारजनसँग भन्दा मोबाइलमा बढी समय बिताइरहेको एक अध्ययनले देखाएको छ ।

लण्डनस्थित युनिभर्सिटी कलेज लण्डन (यूसीएल) का मानवशास्त्रीहरुले विभिन्न नौ देशमा गरेको अध्ययनले स्मार्टफोनमा बढी समय बिताउनेमा साथी र परिवारलाई उपेक्षा गर्ने बानी विकास हुने देखाएको हो । मानवशास्त्रीहरुले आयरल्यान्डदेखि क्यामरुनसम्मका विभिन्न देशका स्मार्टफोन प्रयोगकर्ताहरुको मोबाइल चलाउने बानीको एक वर्षसम्म अध्ययन गरेका थिए । प्रयोगकर्ताले स्मार्टफोनलाई एउटा सामान्य उपकरण मात्र नमानेर आफ्नो घरको बारेमा जस्तै निकटता अनुभव गर्ने गरेको उनीहरुले पत्ता लगाए ।

‘स्मार्टफोन अब हामीले प्रयोग गर्ने उपकरण मात्र रहेन । यो हामी बस्ने ठाउँ जस्तै भइसक्यो’, अध्ययनका नेतृत्वकर्ता प्रो. डेनियल मिलरले भने, ‘मानव सम्बन्धमा स्मार्टफोनको अर्कोपक्ष भनेको खाना खाने समय, बैठक वा जुनसुकै कार्य गरिरहँदा पनि सँगै रहेको व्यक्ति घर मोबाइलमा हराउन सक्छ ।’

यस्ता प्रवृत्तिले आमने सामने हुने संवादलाई निकटताको अन्त्य (डेथ अफ प्रक्सिमिटी) तिर डो¥याउने उनले बताए । यस्तो व्यवहारले हुने तनाव, निराशा वा अपमानको अनुभूतिलाई ‘डेथ अफ प्रक्सिमिटी’ भनिएको हो । हामी भौतिक रुपमा सँगै भए पनि सामाजिक, पेशागत वा भावनात्मक रुपमा एक्लो हुने खतरासँग बाँच्न अभ्यस्त भइरहेका छौं ।

यो परिवर्तनको ठूलो र पहिलो कारण फेसबुक, ह्वाट्स एपजस्ता सामाजिक सन्जाललाई मानिएको छ । यस्ता एपहरुलाई अध्ययनकर्ताहरुले ‘स्मार्टफोनको मुटु’ को संज्ञा दिएका छन् । अधिकांश क्षेत्रका धेरै प्रयोगकर्ता स्मार्टफोनले उनीहरुका लागि गर्ने महत्वपूर्ण कुरालाई एउटा एपले नै प्रतिनिधित्व गर्ने मान्छन् ।

उदाहरणका लागि जापानमा लाइन, चीनमा वीच्याट, ब्राजिलमा ह्वाट्स एप र दक्षिण एशियामा फेसबुक भाइवर । यी एपहरु नै यस्ता प्लेटफर्महरु हुन् जहाँ दाजु–भाइ दिदी–बहिनी वृद्ध बाबुआमाको हेरचाह गर्न जोडिन्छन् ।

अभिभावकले छोराछोरीलाई उनीहरुको बाल्यकालका स्मृति झल्काउने फोटोहरु पठाउँछन् । यिनीहरु नै यस्ता माध्यम हुन् जसले आप्रवासी शरणार्थीहरुलाई आफ्ना परिवारसँग सम्पर्कमा राख्छ । स्मार्टफोन प्रयोगका अन्य धेरै अन्वेषणहरु भन्दा फरक यो अध्ययन अधवैंशे व्यक्तिहरुमा बढी केन्द्रित रहेको बताइएको छ ।

‘युवा युवतीमा ध्यान केन्द्रित गर्ने बानी परिसकेको हामीलाई सुरुमा त बढी उमेरका व्यक्तिहरुको अध्ययनमा जोड दिइएको कुरा अनौठो लाग्न सक्छ’, अध्ययनकर्ताहरु बताउँछन्, ‘यद्यपि बढी उमेर भएका व्यक्तिहरुमा केन्द्रित हुँदा विशेष जनसांख्यिकीय ढाँचामा स्मार्टफोन प्रयोगको नतिजा निकाल्न सकिन्छ ।’ द गार्जिएनबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७