‘राजनीतिक उथलपुथल’ लाई बेवास्ता गर्दै बुलिस बाटोमा दौडियो सेयर बजार


१० जेष्ठ २०७८, सोमबार
share market skoa3RAFvX

काठमाडौं, १० जेठ । साताको अन्तिम दिन गत बिहीबार सेयर बजार बन्द हुँदासम्म राजनीतिमा खासै त्यस्तो नयाँ तरंग केही थिएन । तर बिहीबार बेलुका एकाएक राजनीति तातियो र तीन दिनमा उथलपुथल भयो ।

संसद् विघटन भयो र चुनावको मिति घोषणा भयो । सिंगो मुलुक नै तरंगित गर्ने पछिल्लो राजनीतिक घट्नाक्रम र अन्योलले सेयर बजार पनि प्रभावित हुन्छ कि भन्ने आम अनुमान र आशंका थियो । कतिपयले अब सेयर बजारमा ठूलै पहिरो आउने हल्ला पनि फिजाए । सबैले निकै चासोपूर्वक आइतबारको बजार प्रतिक्षा गरेका थिए । तर आइतबारको बजारले आम अनुमान र आशंकलाई गलत सावित गर्दै बुलिस बाटोमा दौडिएको छ ।

आइतबार बजार खुल्७शधव;नसाथ सुरुमा ४५ अंकले ओरालो लागेको सेयर बजार एकछिनमै समालियो र हरियो मार्गतिर उन्मुख भयो । बजार अवधिभर गजबको उत्साह देखियो । नेप्से परिसूचकले अहिलेसम्मकै उच्च विन्दु चुमेर नयाँ रेकर्ड बनाएको छ । नेप्से सूचक ३२.८१ अंकले बढेर २८२० विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

करिब ११ अर्ब ७० करोड रुपैयाँको सेयर कारोबार भएको छ । २ करोड ५१ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । आइतबार विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको समूहमा उछाल देखिएको छ । वाणिज्य बैंकहरूमा पनि विस्तारै उत्साह देखिन थालेको छ ।

राजनीतिक गडबडीले सेयर बजारको बुलिस लय र गतिलाई खासै फरक परेको देखिएन । मौसम जस्तै परिवर्तन भइरहने नेपालको राजनीतिक आकाशलाई अब लगानीकर्ताहरूले पनि बेवास्ता गर्न थालेका छन् । संसद् व्यूँतिए पनि र चुनाव गए पनि खासै फरक नपर्ने आत्मविश्वास लगानीकर्तामा देखिन्छ ।

बजारमा पर्याप्त पैसा र राष्ट्र बैंकलगायत नियामक संस्थाको सकारात्क दृष्टि कायम रहँदासम्म डराउनुपर्ने अवस्था नरहेको विश्लेषण विज्ञहरूले गरेका छन् । यसअघि पुस ५ गते केपी ओलीले संसद् विघटन गरेपछि खुलेको पहिलो दिनको बजार ठूलै पहिरो गए पनि दोस्रो दिनदेखि फेरि उछाल देखिएको थियो । त्यो उछाल निरन्तर कायम रह्यो । अफ सिजन मानिने पुस माघमा पनि सेयर बजारले बुलिस बाटो छोडेन ।

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमको सभापति समेत रहेका सेयर बजारका विज्ञ तथा व्यवसायी अम्बिका प्रसाद पौडेल लगानीकर्ताहरूको आत्मविश्वास र नियामक निकायहरूको दृढ प्रतिवद्धताका कारण सेयर बजार राजनीतिक उथलपुथलबाट खासै प्रभावित नभएको बताउँछन् । उनी भन्छन्, अहिले बजार घट्नुपर्ने कुनै कारण छैन । त्यसै पनि वैशाखपछिको समय सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ । सबै कम्पनीहरूको कमाइ बाँड्ने बेला आएको छ । अब बजारको बुलिस रनलाई कसैले रोक्न सक्दैन ।’

लगानीका हिसाबले सबैभन्दा सुरक्षित क्षेत्र मानिएको बैंकिङको सेयर अझै पनि खासै बढेको छैन । बैंकिङलाई समग्र सेयर बजारको फाउन्डेशन मानिन्छ । राम्रो कमाइ भएका बाणिज्य बैंकहरूको सेयर भाउ अहिले पनि तुलानात्मक रुपमा अन्डरभ्यालुड रहेकोले अब लगानीकर्ता यो सेक्टरमा आकर्षित हुने संभावना छ । बैंकिङको सेयर राम्ररी नबढ्दासम्म सेयर बजारको बुलिस रन जारी रहने विश्लेषण विज्ञहरूले गर्दै आएका छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७