रासायनिक मलको मूल्य बढ्यो


१२ जेष्ठ २०७८, बुधबार
mal

काठमाडौं, १२ जेठ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढेको छ । कोरोना महामारीको प्रभावका कारण युरिया, डीएपी र पोटासको मूल्य बढेको हो । मूल्य बढेसँगै सरकारले रासायनिक मल किन्नका लागि छुट्ट्याउने गरेको बजेट अपुग हुने देखिएको सरोकारवालाहरूको भनाइ छ ।

कोरोना महामारीको प्रभावका कारण नेपालमा रासायनिक मल आयात हुने बंगलादेश, साउदी अरब, भारतलगायत देशमा मलको मूल्य बढेपछि त्यसको असर नेपालमा समेत पर्ने भएको हो । यसअघि प्रतिमेट्रिक टन ३ सय १७ डलर पर्ने युरियामलको मूल्य बढेर अहिले ४ सय ५५ डलर पुगेको छ । प्रतिमेट्रिकटन ४ सय २० डलर पर्ने डीएपी मलको मूल्य पनि बढेर ६ सय ५० डलर कायम भएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनकारी दिएको छ ।

साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले कोरोना महामारीका कारण मल उत्पादनका लागि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थको मूल्य बढेकाले उत्पादन लागत बढेको, मजदूर अभावका कारण कारखानाहरूको उत्पादन घटेको र जहाजमा समेत मजदूरहरूको अभाव भइरहेकाले मलको मूल्य बढेको हुनसक्ने बताए ।

विगत ५ महिनादेखि मलको मूल्य बढिरहेकाले सरकारले मल किन्नका लागि छुट्ट्याउँदै आएको बजेट अपुग हुने भएको छ । अनुदानको मल किन्न सरकारले चालू आर्थिक वर्षका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ भने आगामी आर्थिक वर्षका लागि पनि सोही परिमाणमा बजेट विनियोजन गर्ने सरकारको लक्ष्य रहेको छ ।

‘नेपालमा करीब ७ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने भए पनि अहिलेको बजेटले ५ लाख मेट्रिक टन खरीद गर्न पुग्छ । बजेट थप नभएमा बढेको मूल्यअनुसार मल किन्दा अहिलेको बजेटले २ लाख ७५ हजार मेट्रिक टन मात्र किन्न पुग्ने छ,’ कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले बताए ।

उनका अनुसार सरकारले बजेट थप नगर्ने हो भने खरीद परिमाण घट्नुका साथै किसानले फेरि पनि मलको अभाव भोग्नुपर्ने अवस्था आउनेछ । त्यसैले सकेसम्म बजेट बढाउनुपर्ने उनको सुझाव छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेर अनुदानको मल खरीद गर्ने सरकारी कम्पनीहरूलाई महँगो पर्न गए पनि त्यसले किसानहरूलाई भने असर नपर्ने पोखरेलको भनाइ छ । सरकारले अनुदानका लागि खरीद गरेको भएकाले किसानलाई त्यसको भार नपर्ने उनले बताए । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७