अर्थमन्त्रीको जिल्लामा कार्यक्रमै–कार्यक्रम


१६ जेष्ठ २०७८, आईतवार
bujet bhasan

काठमाडौं, १६ जेठ । निकै महत्वाकांक्षी योजनाका रूपमा लिइएको कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाले आगामी आर्थिक वर्षको बजेटमा प्रवेश पाएको छ । बजेटमा कालीगण्डकी–तिनाउ नदी पथान्तरण आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ ।

आयोजना कार्यान्वयनको ढाँचा निर्धारण र स्रोत व्यवस्थापनको काम सम्पन्न गरी निर्माण कार्य आरम्भ गरिने बजेटमा उल्लेख छ । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको डिपिआर आउँदो वर्ष पूरा गरी काम सुरु गरिने बजेटमा उल्लेख छ । कालीगण्डकीको पानी सुरुङमार्गबाट तिनाउ नदीमा ल्याई रुपन्देही नवलपरासी र कपिलवस्तुमा सिँचाइ गर्ने लक्ष्य छ ।

भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण र अन्य भौतिक पूर्वाधार निर्माण गर्न तीन अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा लुम्बिनी गुरुयोजना दुई वर्षमा सक्ने उल्लेख छ । यस्तै, लुम्बिनी–तिलौराकोट–देवदह–रामग्राम क्षेत्र समेटी बृहत्तर लुम्बिनी विकास योजनाका लागि एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

भैरहवामा निर्माण हुन नसकेको एकीकृत भन्सारचौकी निर्माणको काम यथाशीघ्र सुरु गरिने भएको छ । ट्रक पार्किङ क्षेत्र नहुँदा भारतीय क्षेत्रको सडकमा हप्तौं गाडी पार्किङ गर्नुपर्दा व्यवसायीले बढी भाडा तिर्नुपरेको गुनासो गर्दै आएका छन् । त्यसलाई सम्बोधन गर्न बेलहियामा दुई हजार गाडी पार्किङ गर्न मिल्ने ट्रक पार्किङ यार्ड निर्माण गर्ने बजेटमा उल्लेख छ ।

भैरहवामा बन्दै गरेको क्रिकेट रंगशाला निर्माण गर्न बजेट विनियोजन भएको छ । भैरहवा सहरको विकास, विस्तार, ढल निकास र पूर्वाधार निर्माण गर्न बजेट विनियोजन भएको छ । बुटवल–भैरहवालाई मेघासिटीका रूपमा विकास गर्ने बजेटमा उल्लेख छ । यस्तै, बुटवलमा विद्युत् तार भूमिगत गर्ने बजेटमा उल्लेख छ ।

बन्द उद्योगहरूमध्ये रुपन्देहीको बुटवलमा रहेको धागो कारखाना सञ्चालन गर्न निजी क्षेत्रसँग साझेदारी गर्न आह्वान गर्ने बजेटमा छ । बुटवल–भैरहवा लुम्बिनीस्तरीय ठूला विद्युतीय बस सञ्चालन गर्नेलाई सहुलियत दिने, बुटवल मेडिकल कलेज सञ्चालन गर्न प्रस्ताव अगाडि बढाउने पनि बजेटमा उल्लेख छ ।

रुपन्देही मोतीपुर औद्योगिक क्षेत्र दुई वर्षभित्रमा सञ्चालन गर्ने, कृिषउपज संकलन, प्रशोधन तथा ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गर्न रुपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषिउपज थोकबजार निर्माण गरिने बजेटमा छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७