प्रतिनिधि सभा विघटनविरुद्धका मुद्दा : संवैधानिक इजलासमा आज पनि सुनुवाइ


१६ जेष्ठ २०७८, आईतवार
bahas 21622183376

काठमाडौं, १६ जेठ । प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा आज (आइतबार) संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । शुक्रबार पहिलो सुनुवाइ भए पनि बहस नसकिएपछि आज पुनः सुनुवाइ हुन लागेको हो ।

शुक्रबार ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भए पनि कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको थियो ।

उनले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए । ‘नेकपा पार्टी उहाँको इजलासले दुई टुक्रा बनाई दियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?’, बन्दीको प्रश्न थियो, ‘त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।’

बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बारेमा प्रश्न नउठाउन अनुरोध गरेका थिए । इजलासले एउटा रिटमा बढीमा १० मिनेट बहस गर्न समय तोकेको छ । संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी ३० वटा रिट दर्ता भएका छन् ।

आफूले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त नगरेको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्चमा रिट दायर गरेका थिए । यस्तै विपक्षी गठबन्धनले संसद पुनः स्थापनाको माग गर्दै रिट दायर गरेपछि सर्वोच्चमा सुनुवाई शुरु भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७