एनआरएनले विश्वस्तरीय गायन प्रतियोगिता आयोजना गर्ने

शम्भुजित बाँस्कोटा, शम्भु राई, शर्मिला बर्देवा, जीवा लामिछाने निर्णायक


१६ जेष्ठ २०७८, आईतवार
singing
Silhouette of woman with microphone singing on concert stage in front of crowd

काठमाडौं, १६ जेठ । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ । प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘सांगीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपाल र सार्क मुलुक बाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउने छन् । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने रहेका छन् ।

शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भने, ‘एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रवद्र्धन तथा जगेर्ना गर्नु पनि एक हो । यो कार्यक्रम त्यसतर्फ एक कोसेढुङ्गा हुने मैले विश्वास लिएको छु ।’ उनले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गरे । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, साहित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताए ।

त्यस्तै वरिष्ठ संगीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रियकरण होस् भन्ने चाहेको भन्दै यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरु जन्मने विश्वास व्यक्त गरे । सन् १९८७ मा प्रज्ञा प्रतिष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रियालिटी शो शुरु गरेको स्मरण गरे । उनले एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र संगीतका माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गरे ।

एनआरएनए आइसीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले नेपालमा बढिरहेको कोरोना सङ्क्रमणप्रति एनआरएनए निकै चिन्तित र संवेदनशील रहेको बताए । उनले यो अवस्थामा नेपालमा रहेका सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनएले सक्दो सहयोग सङ्कलन गरी नेपालमा सहयोग पनि पठाइसकेको जानकारी दिए ।

प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७