एमाले नेताको नियति : ओलीको ‘सरप्राइज’ कुरेर बस्दै


१४ फाल्गुन २०७४, सोमबार
uml office 1

काठमाडौं १४ फागुन : ३ फागुनमा एमाले नेता लालबाबु पण्डित कुनै एउटा टेलिभिजनमा अन्तरवार्ता दिन जादै थिए । त्यही बेला शितल निवाशबाट फोन आयो, ‘तपाई यता आउनुहोस् ।’ नेता पण्डित नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण समारोहमा सहभागी हुन शीतलनिवास पुगे ।

uml office 1

शितल निवाश पुगेपछि प्रधानमन्त्रीको सपथ सुरु हुनु केही मिनेटपछि उनलाई भनियो, ‘तपाई मन्त्री हुँदै हुनुहुन्छ ।’ नेतृ थममाया थापाको पनि कुरो उस्तै थियो । मन्त्री हुने पत्तो शितल निवाश पुगेपछि मात्रै थाहा पाइन् । उनीहरुको लागि ‘सरप्राइज’ भयो । अर्को ‘सरप्राइज’ पनि सँगै भयो, सपथ खाने तयारीका साथ शितल निवाश पुगेका नेताहरु हिस्स भए ।

सोमवार अपरान्ह नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सूचना राष्ट्रपति भवन शीतल निवासमा अनौपचारिकरुपमा पुगीसकेको छ । तर, को को मन्त्री बन्दैछन् ? पार्टी अध्यक्ष एंव प्रधानमन्त्री ओली बाहेकहरुलाई केही पत्तो छैन । सञ्चार माध्यमहरुले अनेक अनुमान गरेर समाचार लेखीरहेपनि नेताहरुलाई संकेत समेत गरिएको छैन । एमालेका एक पदाधिकारी भन्छन्,‘ओली कामरेड बाहेक तलका कसैलाई पनि बन्दै गरेको मन्त्री बारेमा केही जानकारी छैन ।’

माओवादीबाट मन्त्री बन्ने नेताको सूची लगभग बाहिर आइसकेका छन् । प्रचण्डले ओलीलाई सूची बुझाइसकेका छन् । माओवादी रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी हुनेछ ।

माओवादी केन्द्रको तर्फबाट मन्त्रीका लागि शक्ति बस्नेत, रामबहादुर थापा, वर्षमान पुन, मातृका यादव, विना मगर, गिरिराजमणी पोखरेल र जनार्दन शर्माको नाम प्रधानमन्त्री ओलीलाई माओवादी अध्यक्ष प्रचण्डले बुझाएका छन् ।  तर, एमालेको बारेमा शिर्ष नेताहरुलाई समेत पत्तो छैन । एमाले बिट हेर्ने पत्रकार मणी दाहाल लेख्छन्, ‘बरु चीनमा सी चिनफिङले कसलाई मन्त्री बनाउछन् भनेर भन्न सकिन्छ होला तर नेपालमा को हुँदैछन् भनेर भन्न गाह्रो छ ।’

चर्चामा जो छन् :-

UML Minister Candidates

एमालेबाट महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने चर्चा आएको छ । सँगै सचिव प्रदीप ज्ञवालीको पनि चर्चा छ, अर्थमा । यो सँगै सचिव योगेश भट्टराई, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, राजपा परित्याग गरी एमालेको सूर्य चुनाव चिह्न लिएर चुनाव लडेका हृदयेश त्रिपाठीलगायतको नाम चर्चामा छ । तर, चर्चामा भएका नेताहरुलाई अहिलेसम्म कुनै पत्तो छैन ।

यसैगरी सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, यज्ञराज सुनुवार, शेरबहादुर तामाङ, गोकुल बास्कोटा, पार्वत गुरुङ, राजेन्द राईको पनि चर्चा छ । यी मध्ये ओलीले कसलाई बनाउछन् अन्तिम निर्णय भइनसकेको एक पदाधिकारी बताउँछन् । ती पदाधिकारी भन्छन्,‘अध्यक्ष ओलीको मुडमा भर पर्छ, अन्तिममा खल्तीबाट कसको नाम निकाल्नुहुन्छ ।’

स्रोतका अनुसार ओली निकट पूर्वसभामुख समेत रहेका सुबास नेम्बाङको भने अलग्गै सूची छ । नेम्बाङको बिशेष चासो कानुन मन्त्रालयमा रहेको छ । नेम्बाङले बसन्त नेम्बाङ या भानुभक्त्त आचार्य मध्ये एकलाई कानुनमा पठाउन चाहेका स्रोतको भनाई छ । कानुनमा गहिरो दख्खल भएका नेम्बाङकै रुचीमा सरकारको महान्यायाधिवक्तामा अग्नी खरेल नियुक्त भएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७