ताप्लेजुङका अगुवाहरुको अभिव्यक्ति : सुकेटारसँग हाम्रो इतिहास, पहिचान र भावना गाँसिएकोे छ


१६ जेष्ठ २०७८, आईतवार
Taplejung airport scaled

काठमाडौं, १६ जेठ : ताप्लेजुङस्थित सुकेटार विमानस्थललाई ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामकरण गरिएकोप्रति ताप्लेजुङका राजनीतिक दल, नागरिक समाज, जनप्रतिनिधि तथा स्थानीयवासीले आपत्ती जनाएका छन् । सुकेटार विमानस्थल जिल्लाको इतिहास, पहिचान र जिल्लावासीको भावना गाँसिएको भन्दै उनीहरुले एकतर्फी रुपमा घोषणा गरिएको नयाँ नामाकरण फिर्ता लिनुपर्ने माग राखेका हुन् ।


शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा सुकेटर विमानस्थललाई ‘स्वा. रवीन्द्र अधिकारी विमानस्थल’ तथा चुहानडाँडा विमानस्थललाई ‘आङ छिरिङ शेर्पा विमानस्थल’ नामकरण गरिने घोषणा गरिएको थियो । यो घोषणा लगत्तै ताप्लेजुङका अगुवाहरुले तिव्र असन्तुष्टी जनाएका छन् ।

ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचत सांसद तथा नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पनि यो घोषणाप्रति असन्तुष्टी जनाएका छन् । सचिव भट्टराईले कुनै पनि ऐतिहासिक रुपमा कुनै विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामको बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि र नागरिक स्तरमा छलफल र विर्मश जरुरी रहेको बताएका छन् ।

यो नामाकरणले विवाद, विभाजन र अनाश्वयक तनाव मात्रै सृजना गर्ने उनले बताएका छन् । घोषणापछि लेखेका छन्, ‘ऐतिहासिक रुपमा कुनै नाम वा बिशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नु अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधि सहित नागरिक स्तरमा व्यापक छलफल र बिर्मश गरी सहमति निर्माण गर्नु पर्दछ । यसरी मात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भनेमात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, बिभाजन र अनावश्यक तनाबमात्र झेल्नुपर्दछ ।’

नेकपा (एमाले)का अध्यक्ष तथा प्रदेश नम्बर एकका सांसद बलबहादुर साम्सोहाङले सुकेटार विमान स्थललाई रवीन्द्र अधिकारी स्मृति विमान स्थल नामाकरण गर्नु अधिकारी र ताप्लेजुङ जिल्लावासीहरुको अपमान भएको भन्दै फिर्ता लिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष टंक वनेमले पनि यो नामाकरण तत्काल फिर्ता लिन माग गरेका छन् ।

ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले विमानस्थलको नाम परिवर्तन आफूहरुलाई मान्य नहुने बताए । भने, ‘स्थानीय र सरोकारवालाको माग भएमा ऐतिहासिक र औचित्यताको आधार कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुराले समाजलाई भाड्ने मात्रै गर्छ । यो हामी मान्दैनौं ।’

ताप्लेजुङका अगुवा तथा व्यायसायी बलबहादुर तामाङले नामाकरणप्रति आपत्ती जनाए । ताप्लेजुङका अगुवा टंक श्रेष्ठले सुकेटार विमानस्थलको आफ्नै कथा–व्यथा छ, पहिचान रहेको र यो पहिचान ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको बताए । उनले लेखेका छन्, ‘ताप्लेजुङको पहिचान बोकेको एउटा सुन्दर र रमणीय ठाउँ सुकेटार, त्यहीं ठाउँको नामबाट विमानस्थलको नाम सुकेटार विमानस्थल रह्यो । यो प्रिय र गौरवपूर्ण नाम माथि सरकारले एक्कासी धावा बोलेको छ ।’

व्यवसायी तथा ताप्लेजुङका अगुवा रमेश बरालले सरकारले स्थानीय सरोकारवाला समुह र निकायसँग छलफल नै नगरी नाम परिर्वतन गरेर रवीन्द्र अधिकारको अपमान र ताप्लेजुङवासीको भावनामा चोट लगाउने काम गरेको बताए । उनले भने, ‘रवीन्द्र अधिकारीप्रति हाम्रो असाध्यै सम्मान छ । तर सुकेटार नाम हाम्रो इतिहास, भावना र पहिचानसँग जोडिएको छ । यो हामी मान्दैनौं ।’

Bal Bahadur Samsohang
दलहरुको सामूहिक विज्ञप्ति

ताप्लेजुङका युवा नेता सन्तोष मादेनले एक्कासी नाम परिर्वतनको घोषणा गरेर सरकारले ताप्लेजुङवासी र सम्मानित स्वर्गिय नेताको अपमान गरेको बताए । उनले भने, ‘सुकेटार केवल नाम मात्रै होइन यो त हाम्रो इतिहास, भावना र पहिचानसँग जोडिएको छ ।’ ताप्लेजुङका अगुवा मनमणी काफ्लेले सरकारको यो घोषणाप्रति ताप्लेजुङका सबै स्थानीयहरु असहमत रहेको बताए ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारको यो घोषणाप्रति ताप्लेजुङका कोही पनि सहमत नरहेको जानकारी दिए । उनले भने, ‘यहाँका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय यो घोषणाको बिरुद्धमा उभिएका छन् ।’ यो घोषणा फिर्ता गर्नुको अर्को विकल्प नरहेको उनको भनाई छ ।

सुकेटारसँग इतिहासको साइनो

सुकेटारसँग ताप्लेजुङवासीको सम्बन्ध र इतिहासको साइनोको बारेमा अगुवा टंक श्रेष्ठले लेखेको आलेख :-

taplejung leaders123

पाथीभराडाँडा, सिद्धिङ्माडाँडा, मिल्केडाँडा, तिम्बुङपोखरी, ओलाङचुङगोला, सुकेटार, तोक्मेडाँडा आदि–आदि ताप्लेजुङका सुन्दर, मनमोहक र रमणीय ठाउँहरु ! यिनै सुन्दरमध्येका एक सुकेटारलाई वर्तमान सरकारले विवादमा ल्याउने काम गर्‍यो– सुकेटार विमानस्थलाई रविन्द्र अधिकारी विमानस्थल नाम दिएर । ताप्लेजुङ बजारबाट ८ किमि माथि समुृद्र सहतबाट करिब ८ हजार फिट उचाईमा रहेको सुकेटार टाढाटाढाको दृश्य देख्न सकिने एउटा सुन्दर र रमणीय ठाउँ हो । एर्पोट गिरान (विमानस्थल) बन्न अघि यो सुकेटार र देवलटार दुई नामले परिचित थियो । गिरान (एयरपोर्ट) खनिसकेपछि यसको नाम सुकेटार रहन गयो । उतिबेला एयरपोर्ट खन्न जानेहरु ‘गिरान खन्न’ जाने भन्थे ।

सुकेटार विमानस्थल

Suketar
तस्बिर : लोकेश लिम्बु

राजाको पहिलो सम्बोधन २००७ साल फागुन ७ गते । त्यही सम्बोधनमा राजा त्रिभुवनले ताप्लेजुङमा एक एयरपोर्ट निर्माण गर्ने घोषणा गरे । सुन्नमा आए अनुसार त्यो शाही सम्बोधनमा ताप्लेजुङमा एयरपोर्ट बनाउने कुरा मित्लुङका नरबहादुर श्रेष्ठको बलमा पर्न गयो । उनै नरबहादुर श्रेष्ठले २०११ सालमा डकोटा प्लेन लिएर एयरपोर्ट बनाउने ठाउँ हेर्न सुकेटारको आकाश माथि आए । नरबहादुर मन्सी गणेश बहादुर श्रेष्ठको दाजु हुन् । (नरबहादुर र गणेशबहादुर ताप्लेजुङको पहिलो एसएलसी) उनी नेपाली कांग्रेसका नेता थिए । विपी कोइरालाका नजिकका मान्छे । त्यो प्लेन आएको बेला हर्कजंग मादेन, इन्द्रनारायण श्रेष्ठ लगायतका समाजका अगुवाहरु सुकेटार गएका थिए । र, त्यहाँ सेतो कपडा क्रस पारेर ओछ्याइएको थियो । २००७ सालदेखि चर्चामा आएको एयरपोर्ट २०२७ सालदेखि बन्न सुरु भयो ।

हालको सुकेटार विमानस्थल देवलटार र सुकेटारलाई टेकेर बनेको हो । अहिले टावर बनेको ठाउँछेउको धावनमार्ग दक्षिण–पश्चिमको भागलाई देवलटार र पुर्वोत्तर भागलाई सुकेटार भनिन्थ्यो । सुकेटार क्षेत्रमा एकभन्दा बढी पोखरीहरु थिए । पोखरीहरु सुक्दै गएपछि त्यसको नाम सुकेटार भयो । देवलटार र सुकेटारको बिचमा पछिसम्म एउटा कालो पोखरी थियो । त्यो पोखरीबाट दोखु र हाङदेवा दुबैतिर पानी बग्दथ्यो । देवलटारतिरको जमिन सल्लाहबोटेको सुब्बा भैरवबहादुर मादेन जिम्माको थियो भने सुकेटारतर्फ लालबहादुर मादेन जिम्मा थियो । त्यसभन्दा पुर्वोउत्तरको जग्गा भने सुब्बा हर्कजंग मादेन जिम्माको हो ।

कुनैबेला यस सुकेटार र देवलटार क्षेत्रमा दोखुका पौडेल, हादेवाका घिमिरे, पोखरेल र भटराईको गोठ थियो । एयरपोर्ट बनिएपछि त्यसको नाम सुकेटार राखियो । यद्यपि पुरानो एयरपोर्टको मुख्य भाग भने देवलटारको थियो । एयरपोर्ट बिस्तार हुँदै गएपछि अहिले विमानस्थलको बढी भाग सुकेटारतिर नै पर्न गएको अवस्था छ । सुरुको विमानस्थलमा भैरवबहादुर मादेन, लालबहादुर मादेन र टेकबहादुर गुरुङ (तल्लो सुकेटार साधुधारानिरका बासिन्दा) को जमिन परेको थियो । तीनै जनाले जग्गाको मुवाबजा लिएको देखिन्छ ।

२०२७ सालको अन्त्यतिरबाट खन्न सुरु गरिएको एयरपोर्ट २०३१ साल (करिब ४ वर्ष) मा सम्पन्न भएको थियो । हवाई विभागबाट एयरपोर्ट खनाउन ई उपेन्द्र धिताल र एकाउन्टेन्टमा काठमाडौंका नेवार थिए, दुबै काठमाडौंका थिए । उहाँहरुलाई सहयोग पुर्‍याउन बहिदार नियुक्त गरिएको थियो । बतासेको भगिमान गुरुङलाई बहिदार राखिएको थियो । पछि बहिदारमा कालिदास तिवारी पनि रहनु भएको थियो । धितालकै नेतृत्वमा अमानतमा एयरपोर्ट खनाउने काम भएको थियो । सानो सानो ठेक्का दिएर खनाइन्थ्यो । एयरपोर्ट खन्न सुरुमा ११ लाखको बजेट छुट्याइएकोमा पछि २ लाख थपेर १३ लाखमा निर्माण सम्पन्न भएको थियो । एयरपोर्ट खनाउन आएका ई. धिताल र एकान्टेन्ट नेवार साधुधारानिरको टेकबहादुृर गुरुङको घरमा डेरा बस्थे ।

एयरपोर्ट बिस्तार

२०३८ साल कार्तिकमा विराटनगर विमानस्थलबाट सुकेटार विमानस्थलको लागि उडेको विमान ओभरलोडका कारण उड्ने बित्तिकै दुर्घटनामा प¥यो । उक्त दुर्घटनामा ताप्लेजुङका पुर्व रापंस तथा पुर्व राज्यमन्त्री चन्द्रबहादुर पालुंवा (दोखु) र ताप्लेजुङका सिडिओ गिरीराजमणि गौतमलगायत बच्चा समेत ९ जनाको निधन भयो । प्लाटस्पोर्टर (६ सिटे) मात्रै चल्दै आएको एयरपोर्ट टुइनअटर विमान चल्ने गरी विस्तार गर्ने योजना अनुरुप २०३८ सालबाट एयरपोर्ट विस्तारको काम अगाडि बढ्यो । एयरपोर्ट बिस्तारमा मुख्य रुपमा हर्कजंग मादेनको जग्गा प¥यो । केही जग्गा सिद्धिडाँडाको नारायण गुरुङको पर्‍यो । एयरपोर्ट बिस्तारका जानकारी काजी श्रेष्ठ (२००५, फुङलिङ) भन्नुहुन्छ– ‘सुरुमा जग्गा सित्तै दिने भनिए पनि पछि सरकारले दिने सुविधा किन छाड्ने ? भन्ने भयो ।’ हर्कजंगका छोराहरु सर्न मादेन, नारायण मादेन, वीरबहादुर मादेन, पुर्णबहादुर मादेन र डिल्लीजंग मादेनले मुआवजा बुझे ।

एयरपोर्टको लागि ठेक्का खुलेपछि काजी श्रेष्ठले ठेक्का लिने विचार गर्नुभयो । तर उहाँसँग लाइसेन्स थिएन । चैतन्य सुब्बाको चिनजानको मान्छे (आफन्त !) संखुवासभको दुर्गा देवान राइको नाममा रहेको लाइसेन्स प्रयोग गरी चैतन्य सुब्बालाई समेत पार्टनर बनाएर काजी श्रेष्ठले ठेक्काको फाराम भर्नुभयो । ११ लाखको ठेक्का करिब ३० प्रतिशत घटी ७ लाख ७२ हजारमा ठेक्का लिनुभयो । ठेकदार देवानको लाइसेन्स मात्रै प्रयोग भयो । उनले त्यसबाट कुनै छ्याकन लिने काम गरेनन् ।

२०३९ सालबाट खन्ने कामको सुरुवात भयो । करिब १८ महिनामा सकिएको विमानस्थल बिस्तारका लागि हवाई विभागबाट काठमाडौंका उदय सिलवाल इन्जिनीयर (?) आउनु भएको थियो । सिनियर ओभरसियर भए पनि उनी अनुभवी र जिल्ला जिल्लामा विमानस्थल बिस्तारमा जान सहजै तयार हुने भएकोले धेरै ठाउँमा उहाँ इन्जिनीयरको भुमिकामा जानुभएको बुझिन्छ । ईन्जिनीयर सिलवालको साथमा एउटा काठमाडौंका नेवार एकाउन्टेन्टको रुपमा आएका थिए ।

सिलवाल स्वभावमा सरल भए पनि काममा कडा र इमान्दार थिए । उनले हरेक १ फिट माटो पुरेपछि पानी हाल्न लगाउथे । पानीको लागि सुकेटारमा भएको साना पोखरीहरुको सहारा लिनु पथ्र्यो । पानी हालेपछि रोलर लगाउन लगाउँथे । सानो–सानो ढुंगा पनि त्यहाँ पर्न दिदैन थिए । आफ्नो पेसाप्रति अत्यन्तै इमान्दार थिए । उतिबेला अहिलेजस्तो रोलर ताप्लेजुङमा सम्भव थिएन । त्यसैले २०० लिटरको टिनको ड्रममा बिचमा दरो लौरो राखी सिमेन्ट जमाएर घरेलु रोलर बनाइएको थियो । त्यो रोलर एकातिर दुईजना र अर्कोतिर दुईजना भएर चलाउथे । काजी श्रेष्ठ भन्नुहुन्छ–‘कामदारलाई ज्याला दिदा– महिलालाई ३ सय, पुरुषलाई ४ सय र रोलर चलाउनेलाई ६ सय दिइएको थियो । ठेक्कामा नाफा भएन, घाटा पनि भएन ।’

ठेकेदारमा काजी श्रेष्ठ र चैतन्य सुब्बा भए पनि चैतन्य सुब्बाको तर्फबाट चैतन्यको काका सरोज मेन्याङबोले काम गरेका थिए । खन्न सुरु गरेको केही पछि काजीसरलाई साथ दिन विराटनगरबाट धु्रवनारायण श्रेष्ठ पनि आउनु भयो । उहाँ खासगरी शिकार खेल्नमा सौखिन मान्छे । धु्रवनारायण श्रेष्ठले सुकेटार एयरपोर्ट बिस्तारको काम पनि सघाउँदै विजय पतंवासँग शिकार खेल्न गइरहनु हुन्थ्यो । सुकेटारमा कालिदास तिवारीले सबैभन्दा पहिला २०३१ सालमा घर बनाएका थिए । तिवारीको त्यही घरको तलामाथि काजी श्रेष्ठले ठेक्काको लागि कोठा भाडामा लिएका थिए । छिरिङ भान्सेको रुपमा थिए । ठेक्दारहरु सबै त्यही खाना खान्थे । एयरपोर्ट बिस्तार अवधिभर प्लेन उडानमा कुनै बाधा भएन । २०३८ सालपछि पनि विमानस्थल पटक पटक बिस्तार हुँदै आएको छ । अहिले पनि बिस्तारको काम जारी छ ।

टावर

अहिले टावर बसेको ठाउँ भैरवबहादुर मादेन जिम्माको थियो । भैरवबहादुृर मादेनबाट कालिदास तिवारी र राम थापामगर (मगरकान्छाको छोरा) ले भैवरबहादुरको बुहारी विष्णुमाया (प्रेमबहादुर मादेन (स्व) मादेनबाट २०३४ मा संयुक्त नाममा किनेका थिए । किनेको केही समय पछि नै टावरको लागि जग्गा अधिग्रहण भयो । त्यो अधिग्रहणमा कुवेर श्रेष्ठ (हान्द्रुङे साइला) को जग्गा पनि पर्न गयो ।

सुकेटारको नाम परिवर्तन किन ?

सुकेटार– यसको आफ्नै कथा–व्यथा छ, पहिचान छ । यो पहिचान ताप्लेजुङवासीको मनमस्तिस्क र जनजिब्रोमा रहेको छ । अनि देश देशान्तरसम्म फैलिएको छ । यही नाम ताप्लेजुङवासीहरुको लागि प्रिय छ । यो प्रिय नामलाई नेपाल सरकारले हिजो जेठ १५ गते बजेट वक्तव्यमार्फट रविन्द्र अधिकारी विमानस्थल राखिदिएको छ । ताप्लेजुङको पहिचान बोकेको एउटा सुन्दर र रमणीय ठाउँ सुकेटार, त्यहीं ठाउँको नामबाट विमानस्थलको नाम सुकेटार विमानस्थल रह्यो । यो प्रिय र गौरवपूर्ण नाम माथि सरकारले एक्कासी धावा बोलेको छ ।

स्थानीय स्तरमा नाम परिवर्तनको लागि आवाज उठ्यो, माग भयो भने ऐतिहासिकता, आवश्यकता र औचित्यताको आधारमा कुनै पनि ठाउँको नाम परिवर्तन गर्नु पर्ने हुनसक्छ । तर स्थानीयको माग पनि नभई, ऐतिहासिकतालाई ख्यालै नगरी स्वेच्छाचारी तरिकाले नाम फेर्ने कुरा कुनै कोणबाट पनि उचित हुन सक्दैन । यस्ता गलत क्रियाकलापले समाजलाई भाड्ने र अस्थिरता पैदा गर्ने काम मात्रै गर्छ । नाम राख्ने र फेर्ने काम स्थानीयवासीको हो, सरोकारवालाको हो । अरुको अधिकार र भावनामाथिको हस्तक्षेपले कसैको हित गर्दैन । त्यसैले यस्ता बचकना निर्णयलाई तुरुन्त सच्याउनु पर्छ भन्ने आम जिल्लावासीको भनाइ रहेको पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७