पूर्व तयारी बिना विद्युत् महसुल छुट : उपभोक्ताले तत्काल सुविधा नपाउने

बजेटमा घोषणा भएपछि मात्रै प्राधिकरण व्यवस्थापनलाई जानकारी


१८ जेष्ठ २०७८, मंगलवार
miter

काठमाडौं, १८ जेठ । सरकारले बजेटमार्फत निषेधाज्ञाका समयमा उपभोक्तालाई विद्युत् महसुलमा छुट दिने घोषणा गरे पनि उपभोक्ताले तत्कालै यो सुविधा नपाउने भएका छन् । पूर्व तयारी बिनै बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनमा आउन अझैं केही समय लाग्ने बताइएको छ ।

बजेटमार्फत गरिएको घोषणा कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र आएपछि सञ्चालक समितिबाट निर्णय गरेर मात्रै छुट कार्यान्वयन हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए । ‘हामीलाई छुटसम्बन्धी निर्णयको कुनै परिपत्र आएको छैन,’ उनले भने, ‘बजेटमा भनिएको घोषणा कार्यान्वयनका लागि पत्र आएपछि मात्रै यसको कार्यान्वयन हुन सक्छ ।’

अर्थमन्त्री विष्णु पौडेलले शनिबार अध्यादेशमार्फत प्रस्तुत गरेको आर्थिक वर्ष २०७८–७९ को बजेटमा २० युनिटसम्म विद्युत् खपत गर्ने गार्हस्थ्य ग्राहक र साना उपभोक्तालाई निषेधाज्ञाभर निःशुल्क विद्युत् उपलब्ध गराउने उल्लेख छ । मासिक १५० युनिटसम्म विद्युत् खपत् गर्नेलाई ५० प्रतिशत र २ सय ५० युनिटसम्म विद्युत् खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने बजेट वक्तव्यमा घोषणा गरिएको छ ।
बजेटमा उत्पादनमूलक उद्योग, होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत् डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ । ‘साझेदारी, सहलगानीलगायत सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युत्को डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरेको छु,’ बजेटमा भनिएको छ ।

सरकारले छुट दिने भनेर घोषणा गरेको व्यवस्था कार्यान्वयन गरेर प्राधिकरणले सरकारबाट उक्त महसुल शोधभर्ना लिने शाक्यले बताए । गत वर्ष विद्युत् नियमन आयोगले विद्युत्को महसुल निर्धारण गर्दै १० युनिटसम्म विद्युत् खपत गर्ने घरायसी ग्राहकलाई विद्युत् शुल्क निःशुल्क गर्ने व्यवस्था गरेको थियो । उक्त व्यवस्था कार्यान्वयन भइरहे पनि सरकारले बजेटमार्फत घोषणा गरेको व्यवस्था भने निषेधाज्ञा अवधिभरका लागि मात्रै लागू हुनेछ ।

विद्युत् महसुलमा छुटको घोषणा प्राधिकरण व्यवस्थापनसँग छलफल नगरी बजेटमा घोषणा गरिएको प्राधिकरण स्रोतको दाबी छ । ‘प्राधिकरणलाई जानकारी नै नदिई र पूर्वतयारी नगरी बजेटमार्फत छुटको घोषणा भएकाले यसको कार्यान्वयनमा समय लाग्न सक्छ,’ प्राधिकरण स्रोतले भन्यो, ‘बजेटमा घोषणा भएपछि मात्रै प्राधिकरण व्यवस्थापनलाई यसबारे जानकारी भएको हो ।’

बजेटमा कोभिड–१९ महामारी भर अक्सिजन उत्पादन उत्पादन गर्ने उद्योगलाई विद्युत् महसुलमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ । यो घोषणा भने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेर लागू गरिसकेको छ । बजेटमा सरकारले काठमाडौंमा सञ्चालित उद्योगलाई मकवानपुरको मयूरधापमा स्थानान्तरण भए विद्युत् डिमान्ड शुल्क ५ वर्षका लागि निःशुल्क गर्ने घोषणा पनि गरेको छ । बजेटमा उपभोक्ता समूहद्वारा सञ्चालित खानेपानी आयोजनामा प्रयोग हुने विद्युत् महसुल र डिमान्ड शुल्क पूरै छुट दिने व्यवस्था पनि गरिएको छ ।

मिटर अंक आफैं टिपाउन आग्रह

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै निषेधाज्ञामा मिटर रिडर उपस्थित नभए पनि ग्राहकलाई आफैंले मिटर अंक टिपाएर सोहीअनुसार महसुल तिर्न आग्रह गरेको छ । कार्यालयको हटलाइन वा वेबसाइटमार्फत आफ्नो मिटर अंक टिपाउन सकिनेछ । मिटर अंक टिपाएपछि अनलाइन माध्यमबाट विद्युत् महसुल बुझाउन प्राधिकरणले भनेको छ । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७