चौधरी ग्रुपले सुरु गर्‍यो सस्तो मूल्यमै इन्टरनेट सेवा, १२० एमबीपीएस ‘सीजी नेट’ ९९९ रुपैयाँमा


१८ जेष्ठ २०७८, मंगलवार
cg net

काठमाडौं, १८ जेठ । चौधरी ग्रुप (सीजी)ले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ। ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको हो। चौधरी ग्रुपका निर्वान चौधरीले आजबाट उच्चतम स्पिडको इन्टरनेट सुरु गरेको जानकारी दिएका छन्।

उनले वर्ल्ड कलास प्रविधिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराएको बताएका छन्। हाल काठमाडौं उपत्यकामा मात्रै लञ्चिङ गरे पनि छिट्टै नेपालभर इन्टरनेट सुविधा उपलब्ध हुने बताएका छन्। सबैभन्दा छिटो र सस्तो नाराका साथ इन्टरनेट सेवा सुरु गरेको सीजीले जनाएको छ।

टेलिकममा फाइभजी सेवा सुरु गर्न अनुमति नपाएको चौधरी ग्रुपले इन्टरनेट सेवा सुरु गरेको छ। कम्पनीले १२० एमबीपीएस स्पिडको इन्टरनेट मात्रै ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउँदै छ।

कम्पनीले १२० एमबीपीएसको लागि इन्टरनेटको १ महिनाका लागि ९ सय ९९ रुपैयाँ, ३ महिनाको लागि २ हजार ९ सय ९७ रुपैयाँ, छ महिनाको लागि ५ हजार ९ सय ९४ रुपैयाँ, १ वर्षको लागि ११ हजार ९ सय ८८ रुपैयाँमा इन्टरनेट जडान गर्ने सुुरुवाती अफर गरेको छ।

सीजी नेट जडान गर्दा तार र जडान निःशुल्क हुनेछ। इन्टरनेट जडान गर्दा ५ सय रुपैयाँ रिफन्डेबल डिपोजिट गर्नुपर्छ। १ वर्षको इन्टरनेट जडान गर्दा राउटर फ्रि उपलब्ध हुने कम्पनीले जनाएको छ।

१ महिनाको लागि मात्रै जडान गर्नेको लागि महंगो पर्ने कम्पनीले उल्लेख गरेको छ। सिंगल ब्यान्ड राउटर प्रयोग गरे २५ सय र डुअल बेन्ड राउटर प्रयोग गरे ३५ सय रुपैयाँ तिर्नुपर्नेछ। ३ महिनाको लागि इन्टरनेट लिनेले सिंगल बेन्ड राउटरको २ हजार र डुअल बेन्ड राउटरको ३ हजार तिर्नुपर्ने हुन्छ। ६ महिनाको लागि इन्टरनेट जडान गर्नेले सिंगल बेन्डको १५ सय र डुअल बेन्डको प्रयोग गर्ने भए २५ सय रुपैयाँ तिर्नुपर्ने कम्पनीले जनाएको छ।

राउटर फिर्ता गरे ५ सय रिफन्डेबल फिर्ता हुने सीजी नेटले जनाएको छ। कम्पनीले सुरुमा काठमाडौं उपत्यकामा इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी गराएको छ।

यस्तै १२ महिना भित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ । कम्पनीले नेटवर्क विस्तार सम्बन्धी सम्पूर्ण जानकारी www.cgnet.com.np मा उपलब्ध गराएको छ । 

ग्राहक सेवा केन्द्रहरू हालका लागि सीजी डिजिटलका शाखाहरु जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने पनि कम्पनीले जनाएको छ । नेटवर्क विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रहरूमा पनि ग्राहक सेवा केन्द्रहरू थप गर्दै लगिने कम्पनीले जनाएको छ । 

सीजी कम्युनिकेसन्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपाली उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धताअनुसार ‘सीजी नेट’को सेवा प्रारम्भ गरिएको बताए । “दैनिक जीवनमा उच्च गतिको गुणस्तरीय इन्टरनेट अत्यावश्यक भइसकेको छ, माग पनि बढ्दो छ,” चौधरीले  भने, “नेपालको प्रतिस्पर्धी ब्रोडब्यान्ड बजारमा आफ्नो दह्रिलो उपस्थिति जनाउन सीजीले कुनै कसर बाँकी राखेको छैन । मुलुकलाई डिजिटल युगमा लैजान हाम्रो उपस्थितिले ठूलो अर्थ राख्नेछ ।”
 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७