कोभिडकै बीचमा भारतको अर्थतन्त्र ९.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण


१९ जेष्ठ २०७८, बुधबार
1f7d797636a29334d82a0ad3c07f5dcf w1000 h500 cp

काठमाडौं, १९ जेठ । कूल गार्हस्थ्य उत्पादनमा सुधार आई भारतको अर्थतन्त्र सन् २०२२ मार्चको अन्त्यसम्ममा ९.३ प्रतिशतले वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

विश्वको आर्थिक परिदृश्यको नियमित मूल्याङ्कन गर्ने संस्था मुडिज इन्भेस्टर्स सर्भिसले कोरोना भाइरस महामारी (कोभिड–१९)को दोस्रो लहरबाट प्रभावित भारतीय अर्थतन्त्रले पुनः गति लिने प्रक्षेपण गरेको हो ।

सन् २०२० मा कोभिड–१९ का कारण व्यापक गिरावट आएको अर्थतन्त्र कोभिडको संक्रमण कम देखिनासाथ पुनः उकालो लाग्न थालेको छ । मुडिजका अनुसार भारतमा लगानीको वातावरण अझै सुधार आउन सकेको छैन । खासगरी भारतमा अर्थतन्त्रको वृद्धि तुलनात्मक रुपमा न्यून भएको, कमजोर सरकारी वित्त प्रणाली र वित्तीय क्षेत्रका जोखिम बढ्दो क्रममा रहेको मुडिजले जनाएको छ ।

भारतका यी परम्परागत समस्याबीच कोभिडको दोस्रो लहरले भारतीय अर्थव्यवस्थामा थप जटिलता थपेको छ । लकडाउन समेतका प्रतिबन्धका कारण आर्थिक गतिविधि सुस्त हुन सक्ने चेतावनी दिएको मुडिजले कोभिडको पहिलो लहरले झैं यसपटक अर्थतन्त्रलाई गम्भीर प्रभाव नपार्ने प्रक्षेपण गरेको हो ।

राजश्वमा हुने सामान्य गिरावट र कोभिडसँग सम्बन्धित क्षेत्रमा परिचालित हुने खर्चले सरकारी कोषमा कूल गार्हस्थ्य उत्पादनको ११.८ प्रतिशत भार थपिने छ । भारतले गत मे १ देखि तेस्रो चरणको खोप अभियान थालनी गरिसकेको छ जसमा १८ वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई समेटिएको छ । तर, मे महिनाको अन्त्यसम्ममा कूल जनसंख्याको करिब १५ प्रतिशतले मात्र कम्तीमा एक डोज खोप लगाउन पाएका छन् ।

खोपको कमी र स्रोतसाधनको अभावले खोप अभियानलाई सहज रुपमा विस्तार गर्न कठिनाई भइरहेको छ । मुडिजले कोभिडको दोस्रो लहर जुन महिना भन्दा लामो अवधिसम्म जारी रहे र खोप अभियानमा अपेक्षित प्रगति नभए भारतको अर्थतन्त्रमा दिर्घकालीन असर पर्ने जनाएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७