राष्ट्रिय महत्वका पूर्वाधार आयोजनाको काम ठप्प

अधिकांश आयोजनामा काम गरिरहेका कामदारको संख्या घटेर २० प्रतिशतमा सीमित, ढुवानी नहुँदा निर्माण सामग्री सकिँदै


१९ जेष्ठ २०७८, बुधबार
upper tamakoshi

काठमाडौं, १९ जेठ । देशभर कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै राष्ट्रिय गौरव तथा महत्वका पूर्वाधार आयोजनाको काम सुस्ताएको छ । अधिकांश आयोजनामा काम गरिरहेका कामदारको संख्या घटेर २० प्रतिशतमा सीमित भएको छ ।

क्याम्पमा राखेर थोरै कामदारमार्फत आयोजनाको काम भइरहेको भए पनि अधिकांशमा निर्माण सामग्री सकिँदै गएको छ । प्रशासनले काठमाडौँ उपत्यकामा शुक्रबारदेखि पूर्वाधार आयोजना निर्माणको कामलाई पनि स्थगित गर्ने निर्णय गरिसकेको छ ।

यसअघि सरकारले राष्ट्रिय महत्वका आयोजनालाई आवश्यक निर्माण सामग्री ढुवानीमा सहज बनाउने बताउँदै आएको थियो । तर, आयोजना कार्यालयहरूले भने निर्माण सामग्री नै नपाउने तथा ढुवानी भाडा अचाक्ली बढेको बताएका छन् ।

माथिल्लो तामाकोसी विद्युत् उत्पादन कोरोनाका कारण ढिलाइ, जेठभित्र परीक्षण सकिने
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको काम लगभग सम्पन्न भइसकेको छ । आयोजना व्यवस्थापनले विद्युत् उत्पादन थाल्नुअघिको जाँच (टेस्टिङ) को काम समेत थालिसकेको छ । तर, आयोजनाको परीक्षण गर्ने कामका लागि विदेशबाट ल्याउनुपर्ने विज्ञ नआएका कारण कठिन भइरहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए ।

अहिले बाहिरबाट परीक्षण गर्न आएका व्यक्तिहरूलाई पनि सरकारले तोकेको मापदण्डअनुसार १० दिनको क्वारेन्टिनमा राखिएको छ । यसले परीक्षणको काम एक हप्तालाई ढिलाइ भएको आयोजना कार्यालयले जानकारी दिएको छ । परीक्षण गर्न आएकामध्ये केहीलाई कोरोना संक्रमण देखिएका कारण पनि थप सजगता अपनाउनुपर्ने भएको छ । कतिपय आउने मानिस पनि रोकिएका छन् ।

त्यसले आयोजनाको पहिलो युनिटबाट जेठ दोस्रो हप्ताभित्र विद्युत् उत्पादन थाल्ने योजनामा असर परिसकेको छ । अझै थप केही दिन परीक्षणमा समय लाग्ने प्रवक्ता डा. न्यौपानेले जानकारी दिए । अहिले नियमित परीक्षणको काम भइरहेको र जेठभित्रमा परीक्षण सम्पन्न गर्ने उनले जानकारी दिए । अहिले परीक्षण गर्दा कुनै समस्या देखिँदा त्यसलाई समाधान गर्दै गइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

भेरी–बबई डाइभर्सनमा कामदार र निर्माण सामग्री अभाव
राष्ट्रिय गौरवको अर्को महत्वपूर्ण भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई कामदार र निर्माण सामग्री अभाव भएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर ईश्वरीप्रसाद तिवारीका अनुसार रडलगायतका निर्माण सामग्री पाइएको छैन । टाढाका कामदार ल्याउने अवस्था छैन ।

स्थानीय कामदारमा कोरोनाको त्रास छ । आयोजनावरिपरिका गाउँ कोरोना प्रभावित भएका छन् । त्यसले पनि आयोजनालाई अप्ठ्यारो पारिरहेको छ । ‘सामान्य समयमा २ सय ५० जनाले काम गर्नेमा अहिले त्यस्तै ६० जनाजति काममा होलान्,’ सिडिई तिवारीले भने । आयोजनाको मुख्य गरी जलविद्युत्का लागि सिभिल वर्कस्को काम भने प्रभावित भइरहेको आयोजनाले जानकारी दिएको छ ।

नागढुंगा–नौबिसे सुरुङमार्गमा ४५ प्रतिशत कामदार घटाइयो
नागढुंगा–नौबिसे सुरुङमार्गमा पछिल्लो एक हप्तामा २५ जना कामदारमा कोरोना संक्रमण देखिएपछि कामदारको संख्या घटाइएको छ । संक्रमण देखिएका कामदारलाई आयोजनास्थलमै आइसोलेसन खडा गरेर राखिएको छ । सुरुङ बाहिर पहुँच सडक निर्माणको कामको गतिलाई घटाएको भए पनि सुरुङभित्रको काम भने सुचारु रहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

‘आयोजनामा ६ सय ५० कामदार सक्रिय रहेकामा अहिले त्यसलाई ४५ प्रतिशत घटाएका छौँ,’ उनले भने । यसले कामको गतिमा केही सुस्त भएको उनको भनाइ छ । सुरुङमार्ग व्यवस्थापनले निर्माणमा सहभागी सबै कामदारहरूले जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरेर काम गरिरहेको जानकारी दिएको छ ।

हुलाकी राजमार्ग थोरै कामदारबाट काम गराइँदै
अघिल्लो वर्ष यही समयमा हुलाकी राजमार्ग निर्माणको काम बन्द थियो । कोरोना फैलिने सन्त्रासले प्रशासनले नै आयोजना बन्द गरेको थियो । तर, यो वर्ष भने राष्ट्रिय महत्वका आयोजना बन्द नगर्ने सरकारी निर्णयअनुसार आयोजनाको काम भइरहेको छ । तर, कामदारको संख्या दैनिकजसो घट्दै गइरहेको हुलाकी राजमार्ग निर्देशनालयका कार्यालय प्रमुख रोहितकुमार बिसुरालले जानकारी दिए ।

‘अघिल्लो दिन २ सय कामदार भएको कुनै ठेक्कामा पछिल्लो दिन कोरोनाको हल्लाले ५० देखि ६० जना घट्ने गरेका छन्,’ उनले भने । तराईका केही जिल्लामा सेनासमेत परिचालन भएकाले पनि त्रास बढेको छ । तराई क्षेत्रमा जनसंख्या धेरै भएका र नेपालगन्ज, वीरगन्जजस्ता बढी संक्रमण देखिएका ठाउँमा भने काम ठप्प छ । अहिले हुलाकी राजमार्गअन्तर्गत १ सय ६४ ठेक्का सञ्चालनमा छन् ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनामा मुख्य काम ठप्प
रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको नदी नियन्त्रणको सामान्य काम मात्र भइरहेको छ । कोरोनाको दोस्रो लहरले आयोजनालाई निकै असर गरिरहेको आयोजना रानीजमरा–कुलरिया सिँचाइ आयोजनाका प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आयोजनाका कामदार बिरामी परेका छन् । मालसामान ढुवानी गर्न सकिएको छैन । सरकारले राष्ट्रिय महत्वका आयोजनामा काम सुचारु राख्ने निर्णय गरे पनि फिल्डमा अनेक चुनौतीका कारण काम गर्न नसकिएको आयोजना कार्यालयको भनाइ छ । अघिल्लो वर्ष भने अहिलेको भन्दा धेरै काम भएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ ।

मध्यपहाडी राजमार्ग पूर्ण क्षमतामा काम भएन
राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा निषेधाज्ञापछि पूर्ण क्षमतामा काम सञ्चालन भइरहेको छैन । निर्माण सामग्री ढुवानीमा कठिन भएको र ढुवानी गर्न खोज्दा पनि चलनचल्तीको भन्दा बढी भाडा तिर्नुपर्ने अवस्था रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयका प्रमुख अर्जुनप्रसाद अर्यालले जानकारी दिए ।

आयोजनाअन्तर्गत अहिले २ सयभन्दा बढी ठेक्का सञ्चालनमा रहेका छन् । ती सबैको विस्तृत जानकारी प्राप्त भइनसकेको राजमार्ग आयोजना निर्देशनालयका प्रमुख अर्यालले जानकारी दिए । गौरवको आयोजना भएकाले पनि काम गर्न भने प्रशासनबाट सहयोग भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकमा निर्माणको गति घट्यो
नेपाल–चीन जोड्ने रणनीतिक महत्वको यो सडक अहिले स्तरोन्नति र कालोपत्रे गर्ने काम भइरहेको छ । पछिल्लो समय १३ वैशाखदेखि लागू हुने गरी ११ वैशाखमा सरकारले निषेधाज्ञा लगाएपछि भने अहिले कामको गति घटेको आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए ।

‘निषेधाज्ञा लगाउनुअघि करिब १ हजार जनाले काम गरिरहेकोमा अहिले करिब ४ सय ५० हाराहारीमा मात्र काममा रहेका छन्,’ प्रमुख भण्डारीले भने । प्रशासनले मापदण्ड अपनाएर काम गर्न दिने भएपछि अहिले मापदण्ड पूरा गर्ने र घर गएका हेभी इक्विप्मेन्ट चालक र कामदारलाई पनि फर्काउने कोसिस भइरहेको छ । तर, समयमा पास नपाउने र कामदारलाई घरबाट फर्कन पनि कठिन परिरहेको छ ।

कर्णाली करिडोरको हिल्सा–सिमिकोटमा काम सुचारु
राष्ट्रिय गौरवको कर्णाली करिडोरमा भने कोरोना प्रभाव अहिलेसम्म देखिएको छैन । करिडोरअन्तर्गत हिल्सा–सिमिकोट जोड्ने सडकमा काम भइरहेको आयोजनाका इन्जिनियर सन्तोषकुमार यादवले जानकारी दिए ।

‘अहिले सिमिकोटदेखि १५ किलोमिटर उत्तरमा पर्ने डागु्र खोलामा पुल निर्माण भइरहेको छ भने सिमिकोटदेखि सल्लीसल्लामा कटिङको काम भइरहेको छ,’ उनले भने । देशका अन्य ठाउँमा कोरोना प्रभावले आयोजनाको काम सुस्त भए पनि कर्णाली क्षेत्रमा त्यस्तो प्रभाव देखिएको छैन । बिस्तारै आयोजनामा प्रयोग हुने इन्धन सकिँदै गइरहेकाले केही समयपछि भने निषेधाज्ञाका कारण अप्ठ्यारो पर्न सक्ने आयोजना कार्यालयको भनाइ छ । अहिले पुल निर्माणमा करिब १६ जना कामदार खटिएका छन् भने कटिङको काममा पनि उत्ति नै संख्यामा कामदार खटिएका छन् ।

कालीगण्डकी करिडोरमा निर्माण सामग्री र कामदार ल्याउन अप्ठ्यारो
कालीगण्डकी करिडोरको बेनी–जोमसोम र कोरोला सडकमा अहिले काम ठप्पै त भएको छैन । तर, निर्माण सामग्री र कामदार पर्याप्त नहुँदा कामलाई असर गरिरहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

‘उच्च हिमाली क्षेत्रमा पर्ने भएकाले फागुनसम्म काम नहुने, तर चैतबाट काम खुल्ने भएकाले अहिले कामदार थप गरेर काम गर्नुपर्ने समय थियो । तर, अहिले कामदार ल्याउन सकिएको छैन,’ योजना प्रमुख रामेश्वर लम्सालले भने । काम हुने ‘सिजन’ मा १ हजारभन्दा धेरै कामदार यो आयोजनामा सक्रिय रहने गरेका छन् । तर, यसपटक विभिन्न खण्डमा गरी १ हजारभन्दा न्यून कामदारले काम गरिरहेको योजना प्रमुख लम्सालले जानकारी दिए । ‘प्रशासनमार्फत पास उपलब्ध गराउने र कामदार तथा आयोजनालाई आवश्यक निर्माण सामग्री ल्याउनका लागि सहज गराउने काम भइरहेको छ,’ उनले भने ।

माथिल्लो र तल्लो सान्जेन जलविद्युत् आयोजना प्रभावित
कोरोनाको दोस्रो लहरसँगै चिनियाँ प्राविधिक टोली रोकिँदा सान्जेन र माथिल्लो सान्जेन जलविद्युत् आयोजना प्रभावित भएका छन् । करिब १५ महिनाअघि चीन फर्किएको टोली नआउँदा आयोजनामा ढिलाइ भइरहेको छ । चिनियाँ ३० जनाको टोली यही २७ वैशाखमा आउने कार्यक्रम बनेको थियो । तर, संक्रमणको दर बढेपछि पुनः अनिश्चित बनेको सान्जेन जलविद्युत् आयोजनाका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले जानकारी दिए ।

‘अहिले काम ठप्प नै त छैन, तर सामान्य काम मात्र भइरहेको छ,’ उनले भने । इलेक्ट्रो मेकानिकल कामका लागि आवश्यक सामान चीनबाटै ल्याउने काम भइरहेको छ । त्यसको केही सामान आइसकेको छ भने थप सामान यो हप्तामा पनि आउँदै छ । अहिले आयोजनामा करिब १ सय ७० जना कामदार छन् । सामान्य अवस्था भएको भए अहिले २ सय ५० जना मानिसले काम गरिरहेका हुने थिए ।

नारायणगढ–बुटवल पश्चिम खण्डमा पुलको काम मात्र सुचारु
पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तारको काम जारी छ । पूर्वतयारीमा लामो समय लाग्दा ढिलो गरी थालिएको यो सडक विस्तारले गति लिने विश्वास थियो । तर, कोरोना संक्रमणको विस्तार र सरकारले लगाएको निषेधाज्ञापछि आयोजनामा काम गर्ने कामदारको संख्या आधाले घटेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

नारायणघाट–बुटवल पश्चिम खण्ड बर्दघाट–नवलपरासीका आयोजना प्रमुख प्रदीपराज शाक्यका अनुसार अहिले झन्डै ५० प्रतिशत कामदार घर फर्किसकेका छन् । सामान्य समयमा यो पश्चिम खण्डमा मात्रै करिब ५ सय कामदारले काम गरिरहेका थिए । अहिले त्यो घटेर २ सयको हाराहारीमा मात्र छन् । पश्चिम खण्डमा निर्माण भइरहेका १० वटा पुल निर्माणको काम मात्र अहिले सुचारु छ । अन्य सडक विस्तारका अन्य काम रोकिएका छन् । ‘त्यस्तै, आयोजनालाई आवश्यक पर्ने सिमेन्ट र डन्डी उपलब्ध भइरहेको छैन,’ उनले भने । यसले पनि आउँदा दिनमा समस्या आउने सम्भावना छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७