भगवान भ्रम


१९ जेष्ठ २०७८, बुधबार
BHimjuwala Rai scaled

करियाहरूले
तिमीलाई भगवान् बनाए
आरती उतारे
आराधना गरे
जयजयकार गरे ।

गुलामहरूले
तिमीलाई अधिपति माने
बढाइचढाइ गरे
पाउ मिचे
चाकरी गरे ।

हनुमानहरुले
तिमीलाई राम अर्थ्याए
छातीमा फोटो टाँसे
काँधमा हालेर पापको सुमेरु घुमाए ।


बेलाबखत दासहरूले
रावणलाई राम बनाउँदो रहेछ
 तर, राम आफ्नै कारणले रावण बन्दो रहेछ ।

आक्कलझुक्कल पराश्रयीहरूले
दानवलाई, देवी बनाउँदो रहेछ
तर, देवी, आफ्नै कारणले दानव हुँदो रहेछ ।

परिचारकहरूले
राम भनाएर, राम हुँदैन रावण
भक्तहरूले
देवी कहलाएर, देवी कहलिँदैन दानव
आराधकहरूले
भगवान् बनाएर, भगवान् बन्दैन मानव ।
     

।।

८ जेठ २०७८

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७