बिचौलियाको गोजीमा सरकारी अधिकृतको छाप, खुस खाँदै बचत गर्दै !


१४ फाल्गुन २०७४, सोमबार
office

झापा, १४ फागुन : सरकारी कार्यालयमा कतिसम्म भ्रष्टाचार, घुसखोरी र अनियमितता हुन्छ भन्ने बुझ्न बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीमा गएर हेर्दा प्रष्ट हुन्छ । यतिसम्म कि त्यस कार्यालयमा बिचौलिया र कर्मचारी नै छुट्याउनै गाह«ो छ । नागरिकले तिरेको करबाट तलब खाने कर्मचारीहरु तिनै नागरिकलाई दिनहुँ दुःख दिइरहेका छन् ।office

यातायात कार्यालय मेचीमा सेवा कम, शोषण बढी भइरहेको छ । बिचौलिया नसमातेसम्म काम नै नहुने भएकाले अधिकांश सर्वसाधारण यातायात कार्यालय जान मन गर्दैनन् । यस कार्यालयमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका सेवाग्राही काम लिएर आउँछन् । अनुमतिपत्र नविकरण, प्रतिलिपी, नामसारी दर्ता, अञ्चलीकरण सरुवा दर्ता लगायत काम पनि सेवाग्राहीले आफैँ गराउन सक्दैनन् । हरेक कामका लागि बिचौलिया समात्नैपर्ने बाध्यता छ । यस कार्यालयमा २ दर्जन जति बिचौलिया छन् । सरकारी कर्मचारीझैँ उनीहरु बिहान १० बजे नै कार्यालय पुग्छन् । दिनभरी काम गर्छन् । र, साँझ घर फर्किन्छन् । रोचक कुरो त के छ भने, कार्यालयको जुनसुकै कोठामा पनि बिचौलियालाई प्रवेश छुट छ । एउटा कोठामा त बिचौलियाकै मात्र मौजमस्ती हुन्छ ।

बिचौलियाको गोजीमा अधिकृतको छाप !

कार्यालयका अधिकृतहरुको छाप बिचौलियाले गोजीमै बोकेर हिँडेकोसम्म देख्न सकिन्छ । कतिपय सेवाग्राहीको काम गर्दा ढड्डा पल्टाएर रेकर्ड हेर्नुपर्ने हुन्छ । ढड्डा भएको कोठामा कर्मचारी भेटिँदैनन् । तर, बिचौलियाले खुलेआम ढड्डा पल्टाएको भेटिन्छ । कार्यालयका अधिकांश कर्मचारी बिचौलियाझैँ सादा पोशाकमा आउँछन् । तसर्थ सेवाग्राहीले कर्मचारी र बिचौलिया नै छुट्याउन सक्दैनन् ।
काम गरिदिएवापत बिचौलियाले सेवाग्राहीबाट मनलाग्दी रकम असुल्छन् । तर, बिल दिँदैनन् । तलदेखि माथिसम्मै सेटिङ छ, यातायात कार्यालयमा । कर्मचारीले सेवाग्राहीसँग गर्ने व्यवहार रुखो छ । काम सम्पन्न हुँदासम्म दर्जनौँ पटक कर्मचारीको हप्की सहनुपर्छ, सेवाग्राहरीले । यातायात कार्यालयका कर्मचारीले हरेक महिना तलब पाउँछन् । तर, उनीहरु हरेक दिन सहकारीमा बचत गर्छन् ।
केही सहकारीका ‘कलेक्टर’हरु दिनहुँ यातायात कार्यालयका हरेक कोठामा पुग्छन् । अधिकांश कर्मचारीले ३ सयदेखि ५ सय रुपैयाँसम्म दैनिक बचत गर्छन् । सर्वसाधारणबाट घुसवापत लिएको रकम हरेक दिन सहकारीमा बचत भइरहेको छ ।

स्वास्थ्य परीक्षणमा लापर्वाही

सवारी चालक अनुमतिपत्र लिन आवेदन दिँदा गरिने स्वास्थ्य परीक्षणमा पनि चरम लापरबाही छ । सवारी चालक अनुमतिपत्रका लागि गरिएको स्वास्थ्य परीक्षणमा सेवाग्राहीले डाक्टरको अनुहार पनि देख्न पाउँदैनन् । यातायात कार्यालयको अनुसूचीमा छारे रोग छ कि छैन, निवेदकको आँखाले रङ छुट्याउन सक्छ कि सक्दैन, रगत जाँच गराउने आदि कामका निवेदकले निकै लामो समय खर्चिनु पर्छ । तर यातायात व्यवस्था कार्यालयमा यी सबै जाँच २ मिनेटमै हुन्छ ।jhapa

भेटिंदैनन् हाकिम साब

यसबारेमा कुरा गर्न सोमबार नयाँ पत्रिकाकर्मी कार्यालय प्रमुखको कार्यकक्षमा पुग्दा उनी भेटिएनन् । ढोकाको नेमप्लेटले भने उनी भित्रै रहेको शंकेत गरिरहेको थियो । झण्डै २० मिनेट प्रतिक्षा गर्दा पनि कार्यालय प्रमुख बसन्तप्रसाद पन्थी कार्यकक्षमा आएनन् । उनको सम्पर्क नम्बर माग्न ५ नम्बर कोठामा जाँदा त्यहाँका कर्मचारीले ३ नम्बर कोठामा पठाए । ३ नम्बर कोठाका कर्मचारीले ‘५ मा गएर माग्नुस् न’ भने । कार्यालय प्रमुख पन्थी भर्खरै सरुवा भएर झापा आएका हुन् । ‘उहाँ भर्खर आउनुभएको हो, त्यसकारण हामीले पनि नम्बर लिएकै छैनौँ,’ एक महिला कर्मचारीले भनिन् । अधिकांश सरकारी कार्यालयका प्रमुखहरु कार्यालयमा नबस्ने एक प्रकारको रोग बनेको समाचार नयाँपत्रिकाले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७