निषेधाज्ञाका कारण संक्रमण घट्यो


२० जेष्ठ २०७८, बिहीबार
lockdown

काठमाडौं, २० जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न लगाइएको निषेधाज्ञाको प्रभाव सकारात्मक परेको देखिएको छ । निषेधाज्ञा लागू भएको अघिल्लो दिन अर्थात् वैशाख १५ गते काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा दुई हजार ४७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

जनस्वास्थ्य विज्ञहरूले एक महिनाको निषेधाज्ञापछि उपत्यकामा कोरोना सङ्क्रमण घट्न थालेको सङ्केत मिलेको बताए । तर उनीहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरवाही नगर्न सचेत पनि गराए । उपत्यकामा दैनिक थपिने सङ्क्रमितको संख्या सबभन्दा बढी वैशाख २६ गते झण्डै चार हजार दुई सय पुगेको थियो । यो संख्या घटेर जेठ १६ गते करिब एक हजार एक सयमा आइपुगेको छ ।

जेठ १९ गते बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौंमा ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी एक हजार ४५६ जना सङ्क्रमित थपिएका छन् । अहिले दैनिक थपिने नयाँ सङ्क्रमितको संख्या निषेधाज्ञा लागू हुनुभन्दा एक साता अघिको अवस्थामा आएको छ ।
यसैगरी वैशाख अन्तिमतिर काठमाडौं उपत्यकामा झण्डै साढे ४२ हजार सक्रिय सङ्क्रमित थिए । बुधबार सक्रिय सङ्क्रमितको संख्या उपत्यकामा २४ हजार ६४६ मा झरेको छ ।

सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको संख्या घटेको बताए । उनले निषेधाज्ञा जारी भएको एक महिनापछि सङ्क्रमितको संख्या घट्न थालेको भए पनि कोरोनाको जोखिम कम भयो भन्न नमिल्ने बताए । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७