भारत र चीनबाट डेढ अर्ब बढीको धानको बीउ आयात


२० जेष्ठ २०७८, बिहीबार
dhan 2 scaled

काठमाडौं, २० जेठ । नेपालमा यस वर्षका रोपाइका लागि एक अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् ।

बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब ६१ करोड १८ लाख ९८ हजार रुपैयाँको कुल ४ हजार १ सय ४९ मेट्रिक टन धानको बीउ आयात गरेका हुन् ।

यूएस ३ सय १२, च्याम्पियन, राजा, महाराजा, साँवामन्सुली, सुधा, शान्तिलगायत ४६ प्रकारका धानका बीउ आयात भएका छन् । यसरी आयात गरिएकामध्ये ३९ ओटा जातका बीउ भारत र बाँकी सात वटा जात चीनबाट आयात भएको केन्द्रका वागबानी अधिकृत विकास खरेलले जानकारी दिए ।

सावित्री, सोनामन्सुली, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ । व्यवसायीहरूले भारत र चीनबाट वर्णसंकर बीउहरू आयात गर्ने गर्छन् । खरेलका अनुसार परिमाणको हिसाबले पनि चीनभन्दा भारतबाट बढी मात्रामा बीउ आयात हुने गरेको छ । यस वर्ष भारतबाट ३ हजार ९ सय ६१ मेट्रिक टन बीउ आयात भएको छ भने चीनबाट जम्मा १ सय ८८ मेट्रिक टन बीउ आयात भएको भएको छ ।

आयातका लागि कम्पनीहरूले स्वीकृति लिने तथा धानको बीउ आयात हुने क्रम जारी रहेको बताइएको छ । अब बीउ राख्नेभन्दा पनि किसानहरूले बीउ राखेर धान रोप्नतिर लाग्ने भएकाले आयात भइहाले पनि सानो परिमाणमा मात्र आयात हुन सक्ने खरेलले बताए ।

नेपालमा धानखेती हुने कुल १३ लाख ५० हजार हेक्टर जमीनका लागि वार्षिक करीब ७० हजार मेट्रिक टन धानको बीउ आवश्यक हुन्छ । यसमा निजी बीउ उत्पादक कम्पनी तथा व्यवसायीहरूले ठूलो अंशा ओगटेका छन् । नेपाली बीउ उत्पादक कम्पनीहरूले वार्षिक १० हजार मेट्रिक टन धानको बीउ उत्पादन गर्ने गरेको तथ्यांक छ । कतिपय किसानले आफ्नै स्थानीय बीउ पनि प्रयोग गर्ने गरेको सरोकारवालाहरू बताउँछन् ।

सावित्री, मकवानपुर, बास्मतीलगायत धानको बीउ नेपालमै उत्पादन हुन्छ भने वर्णशंकर बीउहरू भारत र चीनलगायत देशहरूबाट आयात हुने गर्छ । आर्थिक अभियान दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७