सरकारको बजेट भाषणपछि क्रसर चलाइरहेका डनहरू हौसिए


२० जेष्ठ २०७८, बिहीबार
crasar
फाइल फोटो

काठमाडौं, २० जेठ । सरकारले शनिबार बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवाको निकासी खुला गर्ने भनेसँगै कानुन मिचेर क्रसर चलाइरहेका डनहरू हौसिएका छन् ।

अहिलेसम्म कानुन कार्यान्वयन गराउने सरकारी अंगलाई रिझाएर चलाइरहेको अवैध धन्दा चलाउन सरकारबाटै लाइसेन्स पाउने भएपछि उनीहरू हौसिएका हुन् । यसले चुरेमाथिको दोहन डरलाग्दो गरी बढ्ने पर्यावरण विज्ञको चिन्ता छ ।

‘सरकारले यति संवेदनशील विषयमा तराई–मधेसका बासिन्दाको पीडा बुझेर निर्णय लिनुपथ्र्यो । वातावरण तथा पर्यावरण विज्ञसँग छलफल गर्नुपथ्र्यो । यो सब केही नगरी एकाएक निकासी खोल्नुले नियत ठीक नभएको देखिएको छ’, वातावरण तथा पर्यावरण विज्ञ डा. विजय सिंहले भने ।

चुरे क्षेत्रको संरचना एकदमै कमजोर छ । कमजोर भूबनोटका कारण यहाँ ढुंगागिट्टी अत्यधिक खोस्रियो भने तराई मधेस भएर बग्ने नदीको बहाव तीव्र हुन्छ । यसले माथिको गेग्र्यान सोहोरेर पहिरोको जोखिम बढाउँछ र नदीको तीव्र बहावले बगाएर ल्याउने बालुवा तराई–मधेस क्षेत्रमा थुप्रिँदै जान्छ ।

‘विगतमा चुरे क्षेत्रबाट अनधिकृत रूपले ढुंगामाटो खोस्रिँदा प्रतिकूल असरहरू देखिएका थुप्रै उदाहरण छन्’, डा. सिंहले भने, ‘यसले चुरेको पानी सञ्चय गर्ने क्षमता गुमेको छ । चुरेले पानी सोस्न नसकेपछि तराई–मधेसका धेरै गाउँमा इनारहरू सुकेका छन् ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७