नासाले शुक्र ग्रहमा दुई वटा अन्तरिक्ष मिसन पठाउने


२० जेष्ठ २०७८, बिहीबार
118783988 118783807 d46ff476 316c 4dc6 ac82 42ef03ae0bf2

काठमाडौं, २० जेठ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न दुई वटा अन्तरिक्ष मिसन सञ्चालन गर्ने जनाएको छ ।

शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ दुईवटा मिसन त्यहाँ पठाउने नासाले घोषणा गरेको बीबीसीले जनाएको छ । ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुनेछन् ।

सन् २०२८ र २०३० को बीचमा ती मिसन सञ्चालन हुनेछन् । नासाका प्रशासक बिल नेल्सनका अनुसार ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलो पटक उक्त ग्रह अनुसन्धान गर्ने मौका दिनेछ । यसअघि नासाले शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० ताका पठाएको थियो । त्यसपछि उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन् ।

नासाले दुई मिसनका प्रस्तावहरू वैज्ञानिकहरूबाटै समीक्षा गराएर तथा तिनको वैज्ञानिक महत्त्व तथा विकास योजनाको सम्भाव्यताको आधारमा छानेको बताएको छ । ‘यी दुई मिसनहरूले शुक्र ग्रह कसरी आगोको गोला जस्तो संसार बन्न पुग्यो जहाँको सतहमै पनि सिसा समेत पग्लन्छ भनेर जान्न खोज्ने छन्’, प्रशासक नेल्सनले बताए ।

सूर्यभन्दा दोस्रो स्थानमा रहेको शुक्रग्रह सौर्यमण्डलकै सबभन्दा तातो ग्रह हो । त्यहाँको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ । डाभिन्ची प्लस नामक पहिलो मिसनले सो ग्रह कसरी बनेको र विकसित भएको भनेर हेर्नेछ । उसले शुक्र ग्रहमा कुनै समय महासागर थियो कि थिएन भनेर पनि बुझ्न खोज्नेछ ।

दोस्रो मिसन भेरिटासले शुक्र ग्रहको सतहको नक्साङ्कन गरेर त्यसको भौगोलिक इतिहास जान्नेछ अनि किन पृथ्वीभन्दा एकदमै भिन्न तरिकाले शुक्र ग्रहको विकासक्रम अघि बढ्यो भनेर पनि उसले जान्न खोज्नेछ । रेडारको प्रयोग गरेर त्यहाँ अझै ज्वालामुखी विस्फोट तथा भूकम्प भइरहन्छन् कि भनेर पनि हेरिने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७