प्रदेश–१ को बजेट अधिवेशन जेठ २४ का लागि सिफारिस


२० जेष्ठ २०७८, बिहीबार
pradesh 12021 01 21 09 24 43

विराटनगर, २० जेठ । प्रदेश–१ सरकारले आउँदो जेठ २४ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जेठ २४ गते २ बजे बर्खे अर्थात बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले जेठ २४ गते दिनको २ बजेका लागि प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका छन् । यसअघि सर्वदलीय बैठकमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जेठ २५ देखि २६ गतेतिर शुरु हुने गरी प्रदेशसभाको बजेट अधिवेशन बोलाउने वचन विपक्षी दलहरूलाई दिएका थिए ।

मंगलबार प्रदेश–१ संसद्का विपक्षी दलका नेताहरूसँगको सर्वदलीय बैठकमा मुख्यमन्त्री राईले संसदमा प्रि बजेट छलफल, नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी सरकारले तयारी गरेको जानकारी दिएका थिए । तर, बुधबारको मन्त्रीपरिषद् बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

यसअघि प्रदेशका विपक्षी दलहरुले संसद्को बजेट अधिवेशन तत्काल बोलाउन माग गर्दै सार्वजनिक रुपमा आग्रह गर्नेदेखि प्रदेश प्रमुख सम्मलाई भेटेर दबाब दिँदै आएका थिए । असार १ मा प्रदेशले बजेट ल्याउने चलन छ । यसपटक प्रि बजेट छलफलको म्याद गुज्रिसकेको छ । बजेट पेश हुनुभन्दा १५ दिन अगावै प्रि बजेट छलफल सक्नुपर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था छल्न सरकारले अध्यादेश ल्याएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७