मेलम्चीको पानी दुई महिना नआउने


२० जेष्ठ २०७८, बिहीबार
melamchi

काठमाडौं, २० जेठ । मेलम्चीको पानी आएपछि काठमाडौंमा पानीको अभाव हट्दै गएका बेला अब फेरि दुई महिना पानी आपूर्ति नहुने भएको छ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि नआउने भएको हो । सुरुङ परीक्षणका लागि पानी बन्द गरिने भएकाले पानी आपूर्ति रोकिने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाले तीन महिना परीक्षण अवधिका लागि पठाइएको पानीको परीक्षण अवधि समाप्त भएको छ । आयोजनाका इन्जिनियर राजेन्द्र पन्थका अनुसार असार १ देखि सुरुङ परीक्षणका लागि पानी खाली गराइनेछ । ‘‘इन्जिनियरको टोलीले अब सुरुङमा केही गल्ती, कमजोरी छन् कि भन्नलाई सुरुङ हेर्नेछन् । पानी खाली गराउन कम्तीमा पनि १५ दिन लाग्नेछ । सुरुङको निरीक्षण गर्न थप १० दिन लाग्छ । एक पटक सुरुङ परीक्षण गर्न आवश्यक छ’, पन्तले भने ।

सुरुङमा केही गल्ती, कमजोरी नदेखिए ११ दिनबाट पानी पठाइने आयोजनाले जनाएको छ । परीक्षणका लागि गएको फागुन १० गतेदेखि काठमाडौंका धारामा पानी पठाइएको थियो । बर्खाको समयमा पानीका स्रोतहरु बढ्ने भएकाले मेलम्चीको पानी नआए पनि पानी आपूर्तिमा समस्या नआउने आयोजनाले जनाएको छ ।

सुरुङमार्गको परीक्षण कार्यविधि –प्रोटोकल) पुरा गर्न सुरुङमा असारदेखि पानी पठाउन बन्द गर्न लागिएको हो । उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो । मेलम्चीको १० फागुनमा सुरुङमा पानी भर्न थालिएको थियो । साढे २६ किलोमिटर लामो सुरुङ भरिएपछि फागुन २२ गते सुन्दरीजलमा खसालिएको थियो । सुरुङबाट सफा पानी आउन थालेपछि वितरण केन्द्रबाट पानी प्रशोधन गरेर चैत १५ गतेबाट वितरण लाइनमा पठाउन थालिएको थियो ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका ४ वटा फ्लसिङ टनेलबाट बाहिर फाल्नुपर्ने थियो । त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए–नभएको अध्ययन गर्नुपर्ने थियो । तर, प्रधानमन्त्री कार्यालयले उद्घाटन छिटो गर्न सुरुङ खाली नगर्ने र सुरुङमा पानी हाल्दा प्रभाव परे–नपरेको अध्ययन नगर्न आयोजनालाई दबाव दिएको थियो । प्रोटकेल मिच्दा उद्घाटन २ महिना महिना दिन वर गरेको थियो ।

हतार–हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे–नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो ।

विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागेको बताएका थिए । भरिएको सुरुङ खाली गराएर कहाँ–कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७