‘जनताको अनलाइन’ले मन्त्री बनाएकै छन्, नेताका मनलाइनले खै के गर्छ : यज्ञराज सुनुवार


१४ फाल्गुन २०७४, सोमबार
Yagya raj sunuwar

नेकपा (एमाले) केन्द्रीय सदस्य यज्ञराज सुनुवार ओखलढुङ्गाबाट प्रतिनिधिसभामा दोस्रो पटक जितेर आएका छन् । ओखलढुङ्गा नेपाली कांग्रेसको गढ थियो । कुनैबेला ७४ जिल्ला चुनाव हारेपनि ओखलढुङ्गामा हार्दैन भन्ने चर्चा हुन्थ्यो । कांग्रेसको गढलाई भत्काएर एमालेको लालकिल्ला बनाउने श्रेय उनै सुनुवारलाई जान्छ । यस पटकको निर्वाचनमा उनले कांग्रेसले निश्चित जित्ने सूचीमा राखेका रामहरि खतिवडालाई पछारे । केपी ओली नेतृत्वको सरकार विस्तार भइरहेको बेला उनको नाम पनि मन्त्री बन्ने चर्चामा छ । के उनी मन्त्री बन्लान् त ? नेता सुनुवारसँगको वार्ता :

Yagya raj sunuwar

सञ्चार माध्यमहरुमा ‘यज्ञराज सुनुवार पनि मन्त्री बन्दै’ भन्ने समाचार आइरहेका छन् नी । समाचार मात्रै हो की साँच्चिकै मन्त्री बन्दै हुनुहुन्छ ?
–समाज खुल्ला छ । खुल्ला समाजमा सबैले सबैको मुल्याङ्कन गरीरहेका हुन्छन् । त्यसमाथि हाम्रो पार्टीका दुईजना श्रद्धेय नेताहरु वरिष्ठ नेता माधव नेपाल र महासचिव ईश्वर पोखरेलले चुनावी अभियानको क्रममा जिल्लाबासीहरुलाई ‘यज्ञराज सुनुवारलाई जिताउने जिम्मा तपाईहरुको मन्त्री बनाउने जिम्मा हाम्रो’ भन्नुभएकोले पनि निश्चित जस्तै ठानेर सञ्चार माध्यममा आएको हुनसक्छ ।

साँच्चिकै मन्त्री बनाउनेमा चाहि कति ढुक्क हुनुहुन्छ ?
– आम सञ्चार माध्यममा चर्चा चलेकै छ । जनताकाे अनलााइनहरुमा नाम आएकै छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अन्य महत्वपूर्ण नेताहरुको मनलाइनले के भनीरहेकाे छ, त्यसमै मन्त्री बन्ने कुरा निर्भर हुन्छ । हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले मन्त्री मण्डलमा सबै क्षेत्र, सबै जातिको प्रतिनिधित्व हुन्छ भनेर भनीसक्नु भएको छ । म विद्यार्थी आन्दोलन हुदै पार्टीको यो जिम्मेवारीमा पुगेको छु । ओखलढुङ्गा जस्तो कांग्रेसको उर्बर भुमीलाई बाँझो बनाएर एमालेका लागि उर्बर बनाएको पनि हुँ । पार्टीले दिएको जिम्मेवारी सफलतापूर्वक निभाएकै छु । यी सबै मुल्याङकन हुनेमा विश्वस्त छु ।

पटक–पटक मन्त्री भएकाहरु फेरि मन्त्री हुदैछन् । पटक–पटक जनताबाट अनुमोदित भएकाहरुले अवसर नपाउँदा मन रुदैन ?
– मन्त्री नपाउदैँमा मन रुने कुरो त भएन । विशिष्ट क्षमताको आधारमा कतिपय व्यक्तिहरुलाई जिम्मेवारी दिने सन्दर्भमा बिभिन्न खाले जिम्मेदारी दिएको हुन सक्छ । तर, आमरुपमा तपाईले भने जस्तै जनताबाट अनुमोदित व्यक्तिहरुलाई नै महत्वपूर्ण अवसर उपलब्ध गराउनुपर्छ भन्ने कुरामा दुई मत छैन । ‘व्यक्तिद्धारा संस्थालाई योगदान, संस्थाद्धारा व्यक्तिको मुल्याङ्कन’ भन्ने पद्धतिलाई राजकीय जिम्मेदारी दिदा पनि ख्याल गर्नुपर्छ । यसकै आधारमा सबैको उचित मुल्याङ्कन पार्टीले गर्छ भन्ने कुरामा ढुक्क छु ।

गैर राजनीतिक मान्छेलाई नेतृत्व दिदै गर्दा तपाईहरु जस्तो जीवनभर राजनीति गरेका मान्छेको चित्त दुख्दैन ?
– मैले अघि नै पनि भनिसके कतिपय व्यत्तिहरुलाई आवश्यकताले खास जिम्मेवारी पाउने अवसर जुर्छ । जुन स्वभाविक पनि हो । तर, नेतृत्वबाट मैदानमा जीवनभर न्याय, समानता र परिर्वतनका लागि राजनीतिक तथा सामाजिक अभियानमा सबै कुरा त्यागेर लागेकाहरुको मनमा चिसो पस्ने गरी वा हतोत्साहित हुने गरी कामहरु गर्नुहुन्न भन्ने तपाईको भनाईप्रति सहमत छु ।

तर, यसपाली एमालेका शिर्ष नेताहरु नै एकथान मन्त्री खानको लागि मरिहत्ते गरीरहेका छन् नी, कस्तो लाग्छ ?
– जसरी हामीले नवौ महाधिवशेनमा पार्टीको मुख्य पदमा दुई पटक भन्दाबढी रहन नपाउने व्यवस्था गरिऊ । त्यसैगरी राजकीय पदमा पनि यो कुरा लागु हुन जरुरी छ । एउटै व्यक्तिले पटक-पटक मन्त्री हुने अवसर पाउने तर समान योगदान र क्षमता भएकाले कहिल्यै नपाउने यो परीपाटी हटाउन जरुरी छ । पार्टीको काम र राजकीय कामलाई उत्तिकै प्राथमिकता दिन जरुरी छ । आगमी दिनमा एउटा मापदण्ड बनाएर यस्ता जिम्मेवारी दिने नीति बनाउदा नेतृत्वलाई नै सजिलो हुन्छ ।

पार्टीका शिर्ष नेतृत्व र पदाधिकारी नै एकथान मन्त्री खान दौडधुप गरीसके तपाईहरुको पालो आउला र ?
– स्वभाविक रुपमा अब बन्ने सरकारले मुलुकलाई आर्थिक क्रान्ति मार्फत समुन्नतिको दिशामा अगाडी बढाउदै समाजपादको गन्तव्य तर्फ अघि बढाउने कुराले सबैको मन छोएको छ । त्यसैले नेतृत्व तहका महत्वपूर्ण व्यक्तिहरु राजकीय जिम्मेवारीमा पुगेर राष्ट्रलाई योगदान दिन तयार रहनु सकरात्मक पक्ष हो । तर, दुई ठुला कम्युनिष्ट पार्टीहरु नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबिचको पार्टी एकता जस्तो महत्वपूर्ण बिषयलाई जनस्तरसम्म उत्साहबद्र्धक ढंगले पुराउन मुल नेतृत्वको ६० प्रतिसत पार्टी नेतृत्व पार्टी काममा जुट्नुपर्ने देख्छु । यस कुरालाई नेतृत्व तहबाट गम्भीरता पूर्वक लिएर जिम्मेवारी बाँडफाड गर्नु उपयुक्त हुन्छ । साथै नेतृत्वले सवल र सक्षम भावी नेतृत्व निर्माणमा उचित ध्यान दिदै वैज्ञानिक र व्यवाहारिक ढंगबाट जिम्मेवारी दिने कुरामा गम्भिर हुनुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७