एमाले विवाद : अभिव्यक्ति एकताको पक्षमा, गतिविधि विपक्षीमा


२३ जेष्ठ २०७८, आईतवार
kp madhav.khanal

काठमाडौं, २३ जेठ । विभाजन उन्मुख एमालेका दुवै पक्ष सिद्धान्ततः एकताकै पक्षमा उभिएका छन् । तर, दुवै पक्षका गतिविधि र अभिव्यक्ति भने एकताको विपक्षमा देखिएका छन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्नो पक्षका नेताहरूमाथिको कारबाही फिर्ता नभएसम्म औपचारिक वार्ता सम्भव नभएको बताएको छ ।

खनाल–नेपाल समूहको दुई दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले अन्तिमसम्म एकताको प्रयास गर्ने र सम्भव नभए पार्टी पुनर्गठनमा लाग्ने निर्णय लिएको छ । यस्तो निर्णयसँगै विपक्षी गठबन्धनमा समाहित भइसकेको खनाल–नेपाल समूहले समानान्तर संगठन निर्माणलाई निरन्तरता दिने रणनीति बनाएको छ ।

अर्कोतिर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले स्थायी कमिटी स्थगन गरे पनि अन्य निर्णय भने लिइरहेका छन् । शुक्रबार उनले पार्टीभित्र कुनै छलफल नगरी व्यापक मात्रामा मन्त्रिपरिषद् हेरफेर गरेका छन् । जसलाई नेपालसहितको विपक्षी गठबन्धनले संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भनेको छ ।

खनाल–नेपाल समूहको एकताका लागि अनौपचारिक वार्ता गर्ने निष्कर्षसँगै संस्थापन पक्ष यसलाई उपयोग गर्ने रणनीतिमा देखिएको छ । संस्थापन पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँगै संवाद गरेर पार्टी एकतामा सहमति खोज्ने विषयलाई प्राथमिकता दिने बताएको छ । खनाल–नेपाल समूहले पार्टी एकताका लागि कारबाही फिर्ता हुनुपर्नेसहित ६ वटा प्रस्ताव सर्तका रूपमा अगाडि सारेको छ ।

त्यसलगत्तै संस्थापन पक्षले ती विषयमा वरिष्ठ नेता नेपालसँगै संवाद गरेर सहमति जुटाउन सकिने विश्वास लिएको छ । ‘हाम्रोतर्फबाट अहिले पनि नियमित नै कुराकानी भइरहेको छ । सहमति जुटेर एउटा निष्कर्ष आउला कि भन्ने अपेक्षा छ,’ उपप्रधानमन्त्री विष्णु पौडेलले भने, ‘उहाँहरूले पनि एकता जोगाएर जाने कुरालाई नै प्राथमिकतामा राखेकाले थप छलफल अगाडि बढाउन सकिएला भन्ने लागेको छ ।’

तर, यसैबीच वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले वार्ताका नाममा नाटक गरेर अलमल्याउन खोजेको आशंका गर्दै कुनै हालतमा आत्मसमर्पण नगरिने बताएका छन् । जिल्ला कमिटीका अध्यक्षसहित पदाधिकारीसँग शनिबारको भर्चुअल बैठकमा नेपालले त्यस्तो बताएका हुन् । एमालेभित्रको आन्तरिक विवाद मिलाउन ओलीले इमानदार प्रयत्न गर्नुको सट्टा अलमल्याउन खोजेको उनको भनाइ थियो ।

एक पदाधिकारीका अनुसार नेता नेपालले प्रधानमन्त्री ओलीसँग झुकेर वार्ता गर्ने र आत्मसमर्पण गर्ने पक्षमा आफू नरहेको भन्दै पार्टी पुनर्गठन अभियानलाई निरन्तरता दिन निर्देशन दिएका थिए । आफू कमजोर हुँदा झुल्याउने ओली प्रवृत्ति अहिले पनि देखिएको भन्दै नेपालले ओली सच्चिएर आउलान् भन्ने नै आफूलाई लाग्न छोडे पनि एकताको प्रयास पनि चलिरहेको बताएका थिए ।
‘ओली सुध्रिएलान् भन्ने त लागेको छैन, तैपनि साथीहरूले एकता जोगाउन प्रयास गरिरहनुभएको छ,’ नेपालको भनाइ थियो, ‘आन्दोलनलाई ठूलो उपलब्धि हासिल हुने उचाइसम्म पुर्‍याउन पाँच दशकदेखि लगातार नेतृत्व तहमै रहेर भूमिका खेल्दै आएका कारण पनि मेरो जोड एकीकृत पार्टी रहोस् भन्नेमै छ, तर ओलीले आन्दोलन बचाउन चाहेको देखिँदैन ।’

उता ओली पक्षले लगातार स्थायी कमिटी बैठक स्थगित गर्दै आएको छ । त्यस्तै, प्रधानमन्त्री ओलीकै जानकारीमा दोस्रो तहका नेता पौडेलसहितले वरिष्ठ नेता नेपालसँग नियमित सम्पर्क बढाइरहेको उच्च स्रोतले जनाएको छ ।

‘अब उताका दोस्रो तहका साथीसँग होइन, माधव कमरेडसँगै सीधा संवाद गरेर विश्वासको वातावरण बनाउने र औपचारिक रूपमै वार्ता टुंग्याउने कोसिस भइरहेको छ,’ ओली पक्षका एक दोस्रो तहका नेताले भने, ‘माधव कमरेड पहिलेभन्दा अलिक रिजिक्ट त हुनुभएको छ, तर परिस्थितिको संवेदनशीलतालाई बुझेरै परिपक्व ढंगले आफूलाई प्रस्तुत गर्नुहुन्छ भन्ने विश्वास छ ।’

खनाल–नेपाल समूहको शुक्रबार सम्पन्न बैठकले ओली पक्षसँगको वार्ता र अढाई महिनादेखि चलिरहेको पार्टी पुनर्गठन अभियानलाई समानान्तर रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको थियो । त्यसलाई मूर्त रूप दिने गरी शनिबार बसेको स्थायी कमिटी बैठकले वार्ताका लागि ६ वटा विषयलाई प्रस्तावका रूपमा अगाडि सारेको छ ।

पार्टी एकता जोगाउन एमालेलाई २ जेठ ०७५ अघिको सांगठनिक संरचनामा फर्काउनुपर्ने, नवौँ महाधिवेशनबाट पारित कार्यदिशा र विधानअनुसार पार्टी सञ्चालन गर्ने विश्वासिलो आधार प्रस्तुत गर्नुपर्ने, नेता–कार्यकर्तामाथिको कारबाही फिर्ता गर्नुपर्ने, सर्वोच्च अदालतको २३ फागुनपछि ओली पक्षले गरेका एकलौटी निर्णय बदर गर्नुपर्ने, सबै तहका सरकार सञ्चालनका लागि बेग्लै संयन्त्र निर्माण गर्नुपर्ने, प्रतिनिधिसभा विघटनको कमजोरी सच्याएर पूर्ण कार्यकाल सञ्चालन हुने सुनिश्चितता हुनुपर्ने तथा सरकारले यसबीचमा अध्यादेश ल्याएर कमजोरी गरिएको स्विकार्नुपर्नेसहितका बुँदा नेपाल पक्षले ओली पक्षसँगको वार्ताको एजेन्डा बनाएको छ । केन्द्रीय कमिटीको निष्कर्ष जानकारी गराउँदै वरिष्ठ नेता नेपालले शनिबार जिल्लाका पदाधिकारीसँग पनि अन्तक्र्रिया गरेका थिए ।

दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरूको बैठकमा पार्टी एकता जोगाउने कुरालाई प्राथमिकता दिनुपर्नेमा सबैको मतैक्य नरहे पनि दुई कोणबाट खुलस्त विषय उठान भएको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७