कांग्रेस नेता पौडेलले सुरु गरे मास्क अभियान


२३ जेष्ठ २०७८, आईतवार
health2021 06 06 05 33 27

तनहुँ, २३ जेठ । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले गृहजिल्लामा ‘मास्क अभियान’ सुरु गरेका छन् । उनले शनिबार गृह जिल्ला तनहुँबाट स्वास्थ्य सामग्री वितरण गर्दै अभियान सुरु गरेका हुन् । कोभिडको जोखिम बढ्ने मात्र नभई धुवाँ, धुलो तथा विभिन्न किसिमका रोगबाट सुरक्षित गराउन मास्कको महत्व रहेकाले आफूले ‘मास्क अभियान’ सुरु गरेको पौडेलले बताए । अभियानमा मास्क पुग्न नसकेका ठाउँमा मास्क र अस्पतालमा स्वास्थ्य सामग्री पुर्‍याउने उनले बताए ।

‘जिल्लाका विभिन्न सामुदायिक अस्पतालमा पनि अहिले पर्याप्त स्वास्थ्य सामग्री छैनन् । त्यसैले थोरै भए पनि सहयोग पुग्ने ठानेर माक्स, स्यानिटाइजर, ग्लोब्स, कन्सन्ट्रेटर र पिपिईलगायत स्वास्थ्य सामग्री ल्याइएको हो,’ उनले भने ।

पहिलो चरणमा ५० हजारबराबरको मास्क, स्यानिटाइजर, पिपिई, फेससिल्ड, अक्सिजन कन्सन्ट्रेटर, ग्लोब्सलगायत स्वास्थ्य सामग्री वितरण गरिएको छ । अभियानअन्तर्गत नेता पौडेलले विभिन्न अस्पतालमा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेका छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, दमौली अस्पताल र जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

‘पहिलो चरणमा ५० हजार मास्क र ग्लोब्सबाट सुरुवात गरिएको छ, सर्वसाधारणलाई स्वास्थ्यमा सचेत र सजक बनाउने अभियानमा छौँ । कोभिड– १९ बाट सम्पूर्ण सर्वसाधारणलाई सुरक्षित बनाउने हाम्रो अभियान हो,’ उनले भने ।

सम्पूर्ण सर्वसाधारणलाई कोभिडसम्बन्धी चेतना वृद्धि गरी सुरक्षित बनाउने उद्देश्यका साथ कांग्रेसका युवाहरूलाई परिचालन गराउने उनले बताए । ‘जनप्रतिनिधि, कांग्रेसका सम्बद्ध संघसंस्था, युवा क्लबमार्फत सम्पूर्ण व्यक्तिसमक्ष मास्क पु¥याउनेछौँ र व्यक्तिलाई कसरी कोभिडबाट जोगाउन सकिन्छ, त्यही उपाय अपनाउनका लागि अभियान थालिएको हो,’ उनले भने ।

स्वास्थ्य सामग्री प्राप्त भएपछि अस्पताललाई उपचारमा सहयोग पुग्ने जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले बताए । अर्को पटक दुई लाख माक्सलगायत स्वास्थ्य सामग्री लिएर जिल्ला आउने उनले बताए । तनहुँबाट सुरु गरिएको माक्स अभियान देशैभर गर्ने उनको तयारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७