चार वर्षपछि सत्तामा फर्कियो कांग्रेस : कर्णाली प्रदेश सरकारमा नियुक्त दुई मन्त्रीको आज सपथ


२३ जेष्ठ २०७८, आईतवार
1622731459.194615578 4103253399762765 7527109721796528392 n

सुर्खेत, २३ जेठ । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट दुई जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेसको कोटाबाट दुई जना मन्त्री नियुक्त गर्दै शनिबार साँझ मन्त्रिपरिषद् विस्तार गरेका छन् । सुर्खेतका यज्ञबहादुर बीसी सामाजिक विकास मन्त्री र जुम्लाका दीनबन्धु श्रेष्ठलाई जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस २०७४ सालको निर्वाचनपछि आज पहिलो पटक सत्तामा फर्किदै छ । कर्णाली प्रदेश सरकारबाट कांग्रेसले सत्तारोहणको यात्रा सुरु भएको हो । चार वर्षअघि भएको निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा प्रतिपक्षीमा बसेको कांग्रेस पहिलो पटक प्रदेशमार्फत सत्तामा प्रवेश गरेको हो । नेपाली कांग्रेस दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । प्रदेश प्रदेश प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।

कांग्रेसबाट सरकारमा सहभागी भएका दुई मन्त्रीलाई आजै सपथ खुवाउने तयारी गरिएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
कांग्रेसले गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई संसदमा विश्वासको मत दिएर साथ दिएको थियो । त्यसक्रममा नेकपा एमालेको माधव नेपाल समूहका चार सांसदले पनि फ्लोर क्रस गरी मुख्यमन्त्री शाहीको सत्ता जोगाइदिएका थिए । त्यस लगत्तै सरकारमा जाने सहमति भएपनि कांग्रेसले सरकारमा कसलाई पठाउने भन्ने विषयमा टुंगो लगाउन सकेको थिएन ।

शुक्रबार साँझ मात्रै कांग्रेसले १३ बुँदे आचारसंहितासहित दुई जनालाई सरकारमा पठाउने निर्णय गरेको हो । दुई मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको छ । जसमा मुख्यमन्त्रीसहित ३ जना माओवादी केन्द्रका रहेका छन् भने एमाले माधव समूहका ३ जना र कांग्रेसका २ जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७