नेतृत्व हस्तान्तरण तयारीमा प्रधानसेनापति

काठमाडौं–तराई द्रुतमार्ग २०८१ सालभित्रै सम्पन्न हुने दाबी


२४ जेष्ठ २०७८, सोमबार
purna chandra

काठमाडौं, २४ जेठ । अवकाश पाउनु ९५ दिनअघि नै प्रधानसेनापति पूर्णचन्द्र थापाले नेतृत्व हस्तान्तरणको प्रक्रिया थालनी गरेका छन् । सैनिक ऐनलाई संशोधन गराएरै भए पनि आफ्नो पदावधि लम्बाउन सक्ने हल्ला चलिरहेका बेला प्रधानसेनापति थापाले अबको बाँकी दिन नेतृत्व हस्तान्तरणमा केन्द्रित हुने बताए ।

आफ्नो एक हजार दिन पूरा भएको अवसरमा सञ्चार माध्यमका प्रतिनिधिसँगको अन्तरक्रियामा आइतबार प्रधानसेनापति थापाले भने, ‘आज बिहानैको कार्यक्रमदेखि नेतृत्व हस्तान्तरणको काम अघि बढाएको छु । सक्षम कमान्डरलाई नेतृत्व हस्तान्तरण गर्नेछु ।’
उनले साउन १५ गतेदेखि अवकाशअघिको एक महिने बिदा लिने पनि प्रस्ट पारे । प्रधानसेनापति थापाको तीनवर्षे कार्यकाल भदौ २४ गते सकिँदै छ । थापापछि भदौ २५ गतेबाट अहिले बलाधिकृत रथी तथा प्रधानसेनापतिको दोस्रो वरीयताका प्रभुराम शर्माले नेपाली सेनामा तीन वर्षका लागि नेतृत्व लिनेछन् ।

प्रधानसेनापति थापाले आफ्नो तीनवर्षे कार्यकालमा मुख्य गरी चारवटा क्षेत्रमा केन्द्रित काम भएको दाबी गरे । आफ्नो पहिलो काम सैनिक ऐन–२०६३ लगायत कानुन संशोधन गरेको उनको भनाइ छ । आफ्नो नेतृत्वमा लामो समयदेखि संगठनमा चर्चा हुँदै आइरहेको नेपाली सेनाको नयाँ ढाँचा तीन जोर एक अर्थात् थ्री प्लस वानमा अघि बढाएको पनि उनले बताए ।

‘रणनीतिक र विकासको हिसाबमा सेनालाई नदीको बेसिनको आधारमा पूर्व कमान्ड, मध्य कमान्ड र पश्चिम कमान्ड तथा केन्द्रमा रणनीतिक हिसाबमा उपत्यका कमान्ड संरचनामा ढालिएको छ,’ उनले भने । पूर्वमा कोसी नदीको आधारमा पूर्वी कमान्ड, मध्यमा गण्डकी नदीको आधारमा गण्डकी कमान्ड र पश्चिममा कर्णाली नदीको आधारमा कर्णाली कमान्ड राखिएको हो । सेनामा यसअघि ७ प्रदेशमा ७ पृतना र एउटा उपत्यकामा पृतना गरी ८ पृतना थियो ।

थापाले आफ्नो तेस्रो महत्त्वपूर्ण काम सेनाको पुनःसंरचना भएको बताए । उनले अब तीन जोर एकको आधारमा सम्पूर्ण संगठनको पुनःसंरचना हुने प्रस्ट पारे । उनले सेनालाई कति संख्याभन्दा पनि सेनाको ‘राइट साइज’ कस्तो हो भन्ने मुख्य कुरा रहेको बताए । आफ्नो चौथो महत्वपूर्ण कामको रूपमा नेपाली सेनाको भिजन–२०३० रहेको उनको भनाइ थियो ।

प्रधानसेनापति थापाले काठमाडौं–तराई द्रुतमार्ग तोकिएकै समय २०८१ भित्र सम्पन्न भइसक्ने दाबी गरे । सरकारले आवश्यक बजेट अभाव नगरिदिए, कोभिड–१९ जस्तो संकट थप आइनपरे र सरकारका विभिन्न मन्त्रालय र क्षेत्रबाट सहयोग भइरहे तोकिएकै समयमा काम गरिने उनले बताए ।

सेनाको मुख्य काम मुलुकको रक्षा गर्नु रहेको भन्दै उनले सेना व्यवसायमा नलागेको दाबी गरे । ‘सेनाको एउटा सानो इन्जिनियरिङको टोलीले मुलुकको विकास निर्माणको काममा सहयोग गरेको हो । सुरक्षाका लागि सेना सधैं तयारी रहेको हुन्छ,’ उनले भने । नेपालमा मात्र नभएर द्रुतमार्ग जस्ता रणनीतिक पूर्वाधार निर्माण विश्वका विकसित मुलुक र छिमेकी मुलुकमा समेत सेनाले गरिरहेको उनले उदाहरण दिए । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७