नेपाल–खनाल पक्षको निष्कर्ष : एकता प्रस्तावमा ओलीबाट इमान्दारिता देखिएन

‘संविधान र व्यवस्था बचाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन’


२४ जेष्ठ २०७८, सोमबार
Madhav jhalanath1

काठमाडौं, २४ जेठ । नेकपा एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीको पार्टी एकता प्रस्तावमा इमान्दारिता नदेखिएको निष्कर्ष निकालेको छ । खनाल–नेपाल समूहले शर्त स्वीकार गरेर एकता नहुने अडान राखेको छ ।

‘पार्टी एकताको निम्ति इमान्दारिपूर्वक आएको प्रस्ताव हैन । उहाँ (ओली) ले राखेका बुँदा स्वीकार गर्न सकिंदैन । साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘यसअघि हामीले अगाडि सारेका ६ बुँदे प्रस्ताव लगायतका विषयलाई समेटेर वक्तव्य जारी गर्दैछौं ।’

‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे (आइतबार साँझ प्रस्ताव गरिएको) प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौं । शर्त मानेर एकता सम्भव छैन’, भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।’

उनले पुरानो कारबाही फिर्ता नलिने तर नयाँ कारबाही गर्दिन भन्नुको कुनै तुक नरहेको बताए । त्यस्तै पुरानै जनसंगठन क्रियाशील तुल्याउने सन्दर्भमा पनि ओलीको नियत लुकेको बताए । ‘मूलभूतरूपमा पुरानै कमिटी ब्युँताउने भनेको आफूलाई मन परेका मानिस मात्रै राख्ने भन्ने हो यो कुरा स्वीकार्न सकिँदैन ।’

वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए । अध्यक्ष ओलीले पनि आइतबार पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए । ओलीको प्रस्तावमा पार्टीलाई जेठ ३ पूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने उल्लेख छ ।

साथै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा एमालेका सांसदहरुले गरेको हस्ताक्षर फिर्ताको प्रस्ताव पनि ओलीले गरेका छन् । तर, ओलीले अगाडि सारेका प्रस्तावका कुनै पनि बुँदा स्वीकार गर्न नसकिने निष्कर्ष बैठकले निकालेको भुसालले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७