राजनीतिको कोभिडले नेकपालाई निल्यो : मुख्यमन्त्री शेरधन राई


२४ जेष्ठ २०७८, सोमबार

विराटनगर, २४ जेठ । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले राजनीतिको कोभिडले नेकपालाई निलेको बताएका छन् ।प्रदेश सभाको पहिलो बैठकमा चार वटा उखान–टुक्का र एक गीतको ‘मुखडा’ सुनाउँदै उनले सरकारको धारणा राखेका छन् ।

आज (सोमबार) शुरु भएको आठौं तथा बजेट अधिवेशनमा आफ्नो धारणा राख्दै गीतका मुखडा अनि उखान टुक्का सुनाएका हुन् । उनले विकास र समृद्धि जनताको एक मात्र चाहना भएको कुरा दोहोर्‍याए । बैठकमा विपक्षी दलले महामारीमा प्रदेश सरकारको कमजोर भूमिकालाई लिएर चर्को टिकाटिप्पणी गरेपछि राईले राजनीतिक परिदृष्य तथा महामारीको विषयमा उखान टुक्का अनि गीतको उदाहरण दिएर जवाफ दिए ।

अघिल्लो संसद् बैठकमा आफूलाई विपक्षीले बोल्न नदिएकाले जनतालाई नयाँ वर्ष २०७८ सालको समेत शुभकामना दिन नपाएको भन्दै पहिले शुभकामना व्यक्त गरेका थिए । ‘कोभिड महामारी त राजनीतिक दलमा पनि देखियो । त्यसको केन्द्रबिन्दु धुमबाराही थियो । त्यो कोभिडको संक्रमण प्रदेश र स्थानीय तह सबैतिर फैलियो’, राईले भने । कोभिडबाट एक वर्षभन्दा अगाडिदेखि थलिनु परेको अवस्थामा समग्र जीवनका पक्षलाई थिलथिलो बनाएको उनले बताए ।

मुख्यमन्त्री राईले पहिलो लहर सकिन नपाउँदै नेकपाभित्र पनि कोभिड देखा परेको र त्यसको केन्द्रबिन्दु धुमबाराही भएको उनले बताए । ‘त्यो कोभिड प्रदेश र स्थानीय तह सबैतिर फैलियो त्यसले कसैलाई पनि बाँकी राखेन । कसैलाई पनि छाडेन प्रदेशसभा पनि संक्रमित भयो । यसरी कुनै राजनीतिक दललाई पनि त्यसले छाडेन । अर्को कोभिडको समेत सामना गर्नुपर्‍यो । हामीले सावधानी अपनाउन सकिएन’, उनले थपे, ‘हामीले परिपक्वता र दूरदर्शिता अपनाउन सकिएन । जोगिन सकिएन । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीलाई त कोभिडले निल्यो नै । केही माननीय सदस्य नयाँ रुप र अवतार अनि पोजिसनमा यस हलमा बस्नु परेको छ । अहिले पनि सबैलाई त्यो कोभिडले गाँजिरहेको छ । यस्तो अवस्था छ । यसले कतिबेला कसलाई निल्ने वा सक्ने हो केही टुंगो छैन ।’

राईले नेकपाको विवादलाई ‘उडायो सपना सबै हुरीले’ भन्ने गीत जस्तै भएको सुनाए । उनले ‘झोल खान गएकी’……. खै के जाति ……..भने जस्तो, ‘अति गर्दा खती हुन्छ’……, ‘भुइँको टिप्न खोज्दा’ के के……भयो भने जस्तै नेकपा विवाद अनि राजनीतिक परिदृष्य देखिएको बताए ।

‘घुमिफिरी रुम्जाटार…… भने जस्तै अब सबैचिज ट्रयाकमा आएको छ । कोभिडले धेरै ठूलो पाठ सिकाएको छ । दोस्रो लहरले त झन् धेरै पाठ सिकाएको छ । संघर्ष गर्दै नयाँ प्रकारले जिउने एउटा आधारहरू तयार गर्नुपर्ने छ । राजनीतिक कोभिडबाट पनि थुप्रै पाठ सिक्नु परेको छ ।’
सरकारले महामारीमा काम गर्न नसकेको विषयमा आफ्नो बचाउ गर्दै राईले हिउँदे अधिवेशनमा सरकारको भनाइ राख्न नदिइनु गलत प्रकारको राजनीतिक संस्कार बसाल्न खोजिएको आरोप लगाए । आफू अघिल्लो अधिवेशनमा उठेका विषयमा जवाफ दिन चाहे पनि विपक्षीकै कारण त्यतिकै अन्त गर्नु परेको र त्यो बाध्यता भएको जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७