कतार विश्वकप खेल्ने नेपालको सपना समाप्त

जोर्डनसँग नेपाल ३–० गोलले पराजित


२५ जेष्ठ २०७८, मंगलवार

काठमाडौं, २५ जेठ । अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूर्ण रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३–० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो चरणको छनोटमै टुंगिएको हो ।

नेपाललाई तेस्रो चरणको छनोटमा स्थान सुरक्षित गर्दै कतार विश्वकप खेल्न जोर्डनविरुद्धको खेलमा जित अत्यावश्यक थियो । यद्यपि, खेलको सुरुवातबाटै रक्षात्मक देखिएको नेपालले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन ।

दोस्रो चरणको छनोटका आठ समूहको विजेता एक–एक र दोस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार गरी १२ टोली कतार विश्वकपको तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्ने व्यवस्था छ । छनोटका सुरुवाती प्रायः खेलमा पराजय व्यहोरेको नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी थियो । जोर्डनसँगको पराजयपछि त्यही गणितीय सम्भावना पनि समाप्त भएको हो ।

यससँगै नेपाल विश्वकप छनोट इतिहासमा फेरि पनि दोस्रो चरण पार गर्न असफल देखिएको छ । नेपालले यसअघि ७ वटा विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुँदा ६ पटक पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटमा भने पहिलो चरण पार गरेको नेपाल दोस्रो चरणभन्दा अघि बढ्न सकेन । नेपालले यसपटक वरीयताका आधारमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो ।

विश्वकप छनोटबाट बाहिरिए पनि सन् २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना भने अझै बाँकी छ । कुवेतको जाबर अल अहमाद इन्टरनेसनल स्टेडियम भएको खेलमा नेपाल सुरुवातबाटै दबाबमा देखियो । फलस्वरूप नेपाल खेलको २२औं मिनेटबाट गोल व्यहोर्न पुग्यो ।

रक्षक रोहित चन्दले मौसा मोहम्मद सुलेइमानलाई आफ्नो बक्सभित्र लडाएपछि मलेसियन रेफ्री मोहम्मद अमिरुल इजवानले जोर्डनलाई पेनाल्टी अवसर दिए । जसलाई सदुपयोग गर्दै बाहा फैजल सेइफले जोर्डनलाई १–० ले अघि बढाए । बाहा फैजलको प्रहारलाई नेपाली गोलरक्षक किरणले सही ठम्याएका थिए । यद्यपि, बाहा फैजलको सशक्त प्रहार किरणको हातभन्दा माथिबाट जाली चुम्न पुग्यो ।

नेपालले खेलको ४९औं मिनेटमा अर्काे गोल व्यहो¥यो । यसपटक पनि बाहा फैजलले नै गोल गरे । झण्डै २५ यार्ड दूरीबाट उनले प्रहार गरेको फ्रिकिक सीधै गोलमा परिणत भएको थियो । यसपटक पनि उनको प्रहार नेपाली गोलरक्षक किरणको टाउको माथिबाट जाली चुम्न पुगेको थियो ।

खेलको ६७ औं मिनेटमा नेपालले तेस्रो गोल बेहो¥यो । इसान हाड्डाडको क्रसमा यजान अलअरबले हेडिङ गरेको बल भुइँमा ड्रप भएर गोलरक्षक किरण चेम्जोङलाई समेत नाघेर गोलमा परिणत भएको थियो । शारीरिक र प्राविधिक रूपमा पनि बलियो देखिएको जोर्डनले नेपालको पोस्टमा अरू धेरै आक्रमण गरेको थियो । उसका धैरै उत्कृष्ट प्रहारमा नेपाली गोलरक्षक किरण बाधक बने । खेलको १५औं मिनेटमा जोर्डनका मौसा मोहम्मदले झण्डै २० यार्ड दूरीबाट गरेको सशक्त प्रहारलाई गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए ।

यस्तै, खेलको ४२औं मिनेटमा जोर्डनले अर्काे सशक्त आक्रमण गरेको थियो । अलियाद ओल्वानले क्रस गरेको बललाई मौसा मोहम्मदले सिक्स यार्ड बक्सभित्रबाट फ्री हेडिङको अवसर पाएका थिए । उनको प्रहारलाई पनि गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरे ।

खेलको ५८औं मिनेटमा नेपालले एउटा राम्रो अवसर खेर फाल्यो । डी बक्सभित्र जोर्डनका रक्षकहरू समेत बिट भइसकेको अवस्थामा प्राप्त बललाई नवयुग श्रेष्ठले लिन सकेनन् । जोर्डनका गोलरक्षक मुताज यासिनसँग वान भर्सेस वानको अवस्थामा पुग्नुअघि नै नवयुगले बल आफ्नो नियन्त्रणबाट फुत्काए । नेपालले खेलमा पाएको त्यही एउटा राम्रो अवसर थियो ।

जोर्डनविरुद्ध प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघिल्लो खेलबाट तीन खेलाडीलाई परिवर्तन गरेका थिए । चाइनिज ताइपेईविरुद्ध पहिलो रोजाइमै मैदानमा उत्रिएका रक्षक गौतम श्रेष्ठ, मिडफिल्डर सुनील बल र स्ट्राइकर आशिश लामाको स्थानमा प्रशिक्षक अब्दुल्लाहले रक्षकद्वय दिनेश राजवंशी, विकास खवास र स्ट्राइकर अभिषेक रिजाललाई अवसर दिएका थिए । प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा रक्षक सुमन अर्याललाई खेलाएका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • अध्यक्ष तथा प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु सिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७