‘सरकार कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न शुरु गरे’


२५ जेष्ठ २०७८, मंगलवार
kathamandu 1 scaled

काठमाडौं, २५ जेठ । कोरोना भाइरस संक्रमण कायमै रहेको र निषेधाज्ञा जारी रहेकै बेला काठमाडौं उपत्यकाका सडकमा सवारी जाम हुन थालेको छ । महामारीको यो घडीमा मुख्यतः दुई कारणले निषेधाज्ञा उल्लंघन भइरहेको देखिन्छ । एक, बाहिर कस्तो रहेछ भन्दै हेर्न निस्किने । दुई, रोजीरोटी र बिरामीको हेरचाह गर्नुपर्ने बाध्यता ।

विज्ञ भने सरकार आफ्नो दायित्व एवं कर्तव्य पूरा गर्न चुकेका कारण जनताले निषेधाज्ञा उल्लंघन गर्न शुरु गरेको तर्क गर्छन् । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी राज्य अभिभावक भएकाले पहिलो सर्तका रूपमा राज्यले नै कर्तव्य पूरा गर्नुपर्ने बताउँछन् ।

‘सरकारले कर्तव्य पूरा गर्ने हो । त्यसपछि नागरिकलाई पनि आफ्नो कर्तव्य सम्झाउने र पालना गर्न लगाउनु पर्छ’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक समेत रहेका डा. मरासिनी भन्छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन, टे«सिङ, ट्रयाकिङ, ट्रिटमेन्ट, टुगेदर) को रणनीति बनाए पनि कार्यान्वयन नगरेको डा. प्याकुरेको भनाइ छ ।

‘राज्यको अधिकार र कर्तव्यसँगै जनताको पनि अधिकार र कर्तव्यको कुरा आउँछ । राज्य र जनताबीचको कर्तव्यबीच नै सामञ्जस्यता भएन। आपसमा मेल खाएन’, डा. प्याकुरेल भन्छन् । निषेधाज्ञा गर्नु सरकारको अधिकार भए पनि ‘६ टी’ को रणनीति कार्यान्वयन र खोपको व्यवस्थापन सरकारको कर्तव्य भएको उनी बताउँछन् ।

‘सरकारले कर्तव्य निभाउँदै निषेधाज्ञा पनि लगाएको भए जनताले वाहवाही गर्थे । निषेधाज्ञाको पनि विरोध नगरी पालना गर्थे’, उनी भन्छन्, ‘जनताले पनि सरकारले भने झैं जनस्वास्थ्यको मापदण्ड पालना गरेर बस्नु कर्तव्य हो । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७