सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

विपक्षमा मतदान गर्न एमालेको निर्देशन


२५ जेष्ठ २०७८, मंगलवार
Trilochan Bhatta Chief Minister Province Seven

धनगढी, २५ जेठ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई निर्देशन दिएको छ ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न संसदीय दललाई निर्देशन दिएको हो ।

प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखेर पार्टीको स्थायी कमिटीको निर्णयअनुसार मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्न निर्देशन दिएका छन् । जेठ १० गते बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर प्रदेश संसदीय दलको जेठ १२ गते बसेको बैठकले तत्काल सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको भन्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई स्पष्टीकरण सोधेका थिए । शाहले ओलीलाई स्पष्टीकरणको जवाफ पेस गरिसकेका छन् । बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए । ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ ।

अहिले प्रदेश सभामा सबैभन्दा ठूलो दल एमालेका सभामुख बाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् । एमालेका २४ मतदातामध्ये कारबाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।

नेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् । कांग्रेसले अहिलेसम्म पक्ष–विपक्ष केमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन । कांग्रेसले आज बिहान ७ बजे बैठक बसेर निर्णय गर्ने संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिएका छन् । जसपाका दुवै सांसद महन्थ ठाकुर पक्षका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७