कोरोनाबाट २२ घण्टाभित्र बाबु–छोराकै मृत्यु, गाउँ नै शोकमा


२५ जेष्ठ २०७८, मंगलवार
bed

इलाम, २५ जेठ । कोरोना भाइरस संक्रमणबाट इलाम नगरपालिका सिङफ्रिङमा २४ घण्टाभित्रै बाबु–छोराको ज्यान गएको छ ।
साविक इलाम नगरपालिका–८ सिङफ्रिङका ८४ वर्षीय बुबा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२ घण्टाको फरकमा मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।

छोरा नारायणको कोरोना संक्रमणबाट आइतबार साँझ मृत्यु भएको थियो । झापाको विर्तासिटी अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको हो । १९ जेठमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार शुरु गरिएको थियो ।

छोराको मृत्यु भएको २४ घण्टा नबित्दै उनका ८४ वर्षीय बाबु वेदप्रसाद पोख्रेलको सोमबार दिउँसो साढे ४ बजे मृत्यु भएको स्थानीय हेमन्त गौतमले जानकारी दिएका छन् । कोरोना संक्रमणमुक्त भएपछि बेदप्रसाद पोखरेलको मृत्यु भएको हो ।

संक्रमणको कारण फोक्सोमा गम्भीर असर पर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । २४ घण्टा नबित्दै एकै घरका बाबु छोराको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृतक वेदप्रसाद पोखरेल जनकल्याण निमाविका पूर्व शिक्षक हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७